आर्थिक

चुनौतीका चाङमा नयाँ अर्थमन्त्री (भिडियो रिपोर्टसहित)

२०७९ चैत २५ गते २०:४४
चुनौतीका चाङमा नयाँ अर्थमन्त्री (भिडियो रिपोर्टसहित)

२५ चैत २०७९ काठमाडौं । थलिएको अर्थतन्त्र सुधार्न अर्थमन्त्री प्रकाशरण महतका सामु चुनौति धेरै छन् । सरकारको जस र अपजस अर्थमन्त्रीकै हातमा छ । कारण नेपालको अर्थतन्त्र संकट नजिक छ ।

त्यसैले चुनौति पुरा गर्न अर्थमन्त्री महतले नेपाल राष्ट बैंक, नीजि क्षेत्र र अन्तर्राष्टिय समुदायसँग भेटघाट गरेर सुझाव संकलन गर्दै सबै पक्षको विश्वास लिएर अघि बढ्ने सन्देश दिनुभएको छ ।

अर्थतन्त्रको आन्तरिक र बाह्य दुबै क्षेत्रमा दबाव रहेका बेला अर्थमन्त्री लोकरिझ्याइँभन्दा पनि अर्थतन्त्रलाई कसरी सुधार गर्न सकिन्छ भन्नेमा लाग्नुपर्ने जानकार बताउँछन् ।

शनिबार गृहजिल्ला पुगेका उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले मुलुकको अर्थतन्त्र संकटमा रहेको बताउनुभयो । उहाँले अब कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था आएको चित्रण गर्नुभयो ।

के नेपालको अर्थतन्त्र संकटमै हो त रु जानकारहरु पनि मुलुकको अर्थतन्त्र संकटग्रस्त रहेको बताउँछन् । सुधार गर्न अर्थमन्त्रीका योजना के छ त रु हालै अर्थमन्त्री बनेका कांग्रेस नेता प्रकाशशरण महत सरोकारवालासँगको निरन्तर छलफलमा हुनुहुन्छ । महतले निजी क्षेत्रका उद्योगी व्यवसायीका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि, नेपाल उद्योग परिसंघका प्रतिनिधि, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स संघका प्रतिनिधि, शेयर लगानीकर्ताका छाता संगठनका प्रतिनिधीलगायतसँग भेटवार्ता गरेर सुझाव संकलन गर्न थाल्नुभएको छ ।

नेपाल राष्ट बैंकका गभर्नरसहितका अधिकारीहरुसँग पनि नियमति छलफल जारी राखेका महतले गर्भनर महाप्रसाद अधिकारीलाई व्याजदर, पुँजीबजार, घरजग्गा कारोबार, लघुवित्त संस्था, सहकारीमा देखिएका समस्या समाधान गर्न निर्देशन नै दिनुभएको छ ।

अन्तर्राष्ट्रिय दातृ निकायको विश्वास जित्ने प्रयास पनि महतले गर्नुभएको छ । अहिले मुलुकका आर्थिक सूचक भने संकटोन्मुख छन । संकलित राजस्वभन्दा चालु खर्च २ खर्ब ३० अर्ब रुपैयाँ बढी रहेको छ ।

एक दशक यताकै उच्च मूल्यवृद्धि ८ प्रतिशत र ब्याजदर १८ प्रतिशतसम्म छ । उत्पादन र बिक्रीको चक्र अवरुद्ध हुँदा अर्थतन्त्र मन्दीको अवस्थामा पुगको देखिन्छ । रुस–युक्रेन युद्ध र कोभिडले अर्थतन्त्रमा परेका असरका कारण उद्योगीमा यति बेला चरम निराशा छ । बैंक ब्याजदर उच्च हुँदा लगानी गर्नमा उनीहरूको चासो देखिएको छैन ।

विदेशी लगानी र सहायतासमेत घट्दा अर्थतन्त्र थप दबाबमा छ । यो अवस्थामा राजनीतिक नेतृत्व, पार्टी र कार्यकर्तालाई खुसी पार्ने भन्दा पनि राजस्व बढाउने, निजी क्षेत्रको विश्वास जितेर आशा जगाउने, वित्तीय संस्थाप्रति विश्वास बढाउने, पुँजीगत खर्च बढाउने, व्याजदर घटाउने, अन्तर्राष्ट्रिय दातृ निकायलाई विश्वासमा लिने र मुद्रास्फीति घटाउने लगायतका काममा केन्द्रित हूँदा मात्र सकारात्मक नतिजा आउने देखिन्छ ।

मुलुकले सामना गरिरहेको आर्थिक संकटका बाबजुद अर्थतन्त्रलाई सबल राखी निर्दिष्ट दिशा प्रदान गर्न वित्त नीति र मौद्रिक नीति महत्वपूर्ण उपकरण रहने गरेका छन् । वर्तमान संकट सामना गर्दै उच्च आर्थिक वृद्धि र दिगो एवं फराकिलो आर्थिक विकासका लक्ष्य हासिल गर्न यी दुई नीतिबीच सामन्जस्यता हुनु अपरिहार्य छ। त्यस कारण मन्त्री महत र गभर्नर अधिकारीबीचको सम्बन्धले पनि अर्थतन्त्र सुधारमा ठूलो भूमिका खेल्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *