Main News

थप अराजक बन्दै दुर्गा प्रसाईं, बढाउँदै घृणित अभिव्यक्ति (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ चैत २४ गते २०:३१
थप अराजक बन्दै दुर्गा प्रसाईं, बढाउँदै घृणित अभिव्यक्ति (भिडियो रिपोर्टसहित)

२४ चैत २०७९ काठमाडौं । झापाका व्यवसायी दुर्गा प्रसाई अहिले चर्चा र विवादमा हुनुहुन्छ । कहिले नेताहरुलाई मार्सी चामलको भात खुवाएर चर्चामा आएका प्रसाईं अहिले विवादित अभिव्यक्तिका कारण चर्चामा हुनुहुन्छ ।

घृणा फैलाउने र आक्रोश बढाउने गरी बोलिरहेका प्रसाईंका पछिल्ला अभिव्यक्तिलाई लिएर आलोचना मात्र होइन कतिपयले कारवाहीकै माग गर्न थालेका छन् ।

२०७४ को निर्वाचनताका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मार्सी चामलको भात खुवाएपछि दुर्गा प्रसाई एकाएक चर्चामा आउनुभयो । एमाले र माओवादीबीचको गठबन्धन र एकतापछि एमालेमै रहेका प्रसाईंले एमाले अध्यक्ष ओलीलाई हजुरबा भन्दै पक्षधरता लिन थाल्नुभयो ।

निकट देखिनुभयो, त्यसैबापत् एमाले केन्द्रीय सदस्य मनोनितसमेत हुनुभयो । तर एमालेमा थप अवसर नपाएपछि उहाँ पछिल्लो समय राजावादी अभियान चलाएर पूर्वा राजा ज्ञानेन्द्र शाहलाई झापाको एक कार्यक्रममा पुर्‍याएपछि थप चर्चा पाउनुभयो । हिन्दु राष्ट्र र राजतन्त्र फर्काउने अभियानमा जुटेका प्रसाईं अहिले गभर्नर र बैंकविरुद्ध बोल्दै आउनु भएको छ ।

वित्तिय संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने अभियान घोषणा गरेपछि विवादमा तानिएका प्रसाईले अहिले दैनिक रुपमा भड्किलो अभिव्यक्ति दिँदै आउनु भएको छ ।

संविधानले अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गरेको छ । तर अभिव्यक्ति स्वतन्त्रताका नाममा हिंसा भड्काउने र कसैलाई व्यक्तिगत वा संस्थागत रुपमा लाञ्छना लगाउने, दुर्व्यवहार गर्ने छुट छैन । त्यसैले उहाँको मनोमानी अभिव्यक्तिलाई लिएर अहिले प्रहरी पनि सजग देखिएको छ ।

उसो त यस्ता पात्रहरुलाई प्रोत्साहित गर्ने काम नेताहरुले नै गरेका छन् । केही समय नेतासँग नजिक हुने र धमिलो पानीमा माछा मार्ने प्रवृत्तिकै निरन्तरता प्रसाईंका पछिल्लो गतिविधि भएको कतिपयको बुझाई छ । कुनै समय प्रचण्डको निकट भएका र पछि ओली निकट हुन पुगेका प्रसाई अहिले दुवै जनाविरुद्ध वाक युद्ध छेडिरहेका छन् । अब प्रसाईंजस्ता पात्रहरु उत्पादन गर्ने मूल सफा गर्नुपर्ने अवस्था रहेको उनीहरुको तर्क छ ।

नेपालमा अहिले कानूनको राज छ । कुनै पनि समस्या भए त्यसमा समाधान खोज्ने शान्तिपूर्ण र कानुनी बाटाहरु छन् । तर, आफ्नो स्वार्थको रोटी सक्न अराजकताको साहरा लिन खोज्नु र त्यस्तो अराजक गथिविधिमा सरोकारवाला मौन रहनु भने आश्चर्यजनक छ । यस्तो प्रवृत्तिले भोलिको दिनमा विधिको शासन होइन भिडतन्त्र स्थापित गर्ने प्रष्ट छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *