खेलकूद

महिला ओलम्पिक छनोटमा नेपाल पराजित

२०७९ चैत २२ गते २१:२८
महिला ओलम्पिक छनोटमा नेपाल पराजित

२२ चैत २०७९ काठमाडौं । फ्रान्सको पेरिसमा आयोजना हुने महिला ओलम्पिक फुटबल २०२४ को एसिया छनोटअन्तर्गत पहिलो चरणको खेलमा नेपाल भियतनामसँग पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा भियतनामले नेपाललाई ५–१ गोलअन्तरले पराजित गरेको हो । भियतनामको जितमा कप्तान हुन्ह न्हुले दुई गोल गरिन् भने फाम हाइ यन, एनगुएन थि बीच थुए र एनगुएन थि नाले एक एक गोल गरे ।

नेपालका लागि सावित्रा भण्डारीले एक गोल फर्काइन् । खेलको ११औँ मिनेटमा फाम हाइ यनले गोल गर्दै भियतनामलाई सुरुआती अग्रता दिलाइन् । उनले एनगुएन थिबीच थुएको क्रसमा सहजै गोल गरिन् ।

त्यस्तै खेलको ३६औँ मिनेटमा भियतनामकी कप्तान हुन्ह न्हुले पेनाल्टीमार्फत गोल गर्दै आफनो टोलीको अग्रता दोब्बर बनाइन् । कप्तान न्हुकै प्रहारमा नेपालकी समीक्षा घिमिरेले ह्यान्डबल गरेपछि भियतनामले पेनाल्टी पाएको थियो । जसको सदुपयोग भियतनामकी कप्तानले गरिन् ।

यसैगरी खेलको ३८औँ मिनेटमा एनगुएन थि बिच थुएले गोल गरेपछि पहिलो हाफमा भियतनाम ३–० गोलअन्तरले अगाडि रह्यो । खेलको दोस्रो हाफमा भियतनामले दुई गोल थप्यो । खेलको ४८औँ मिनेटमा थि लोनको क्रसमा कप्तान न्हुले हेडरमार्फत व्यक्तिगत दोस्रो गोल गरिन् ।

खेलको ७९औँ मिनेटमा नेपालकी सावित्राले एक गोल गरिन् । उनले सरु लिम्बूको पासलाई सदुपयोग गर्दै गोल गरिन् । त्यसपछि खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा एनगुएन थिले गोल गर्दै भियतनामलाई ५–१ को जित दिलाइन् ।

एसियाली छनोटको समूह ‘सी’ मा रहेको नेपालले अब शनिबार भियतनामसँग दोस्रो खेल खेल्नेछ । यस समूहमा रहेका प्यालेस्टाइन र अफगानिस्तानले खेल नखेल्ने भन्दै नाम फिर्ता लिएपछि दुई टोलीको मात्र सहभागिता रहेको हो । यस समूहमा शीर्ष स्थान हािसल गर्ने टोली दोस्रो चरणमा पुग्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्