खेलकूद

फुटबल : विभागीय टोलीलाई आफ्नो विरासत जोगाउनै मुस्किल (भिडियो रिपोर्टसहित)

२०७९ चैत २१ गते २०:५५
फुटबल : विभागीय टोलीलाई आफ्नो विरासत जोगाउनै मुस्किल (भिडियो रिपोर्टसहित)

२१ चैत २०७९ काठमाडौं । कुनै समय घरेलु फुटबलमा विभागीय टोलीको एकछत्र राज थियो । राष्ट्रिय टोलीका अधिकांश खेलाडीसहित स्तरीय खेलाडीको पहिलो रोजाइमा पर्दथ्यो विभागीय टीम । तर समयक्रसँगै परिस्थिति बदलियो ।

प्रतिस्पर्धी क्लबहरुले खेलाडीमा मोटो रकम खर्चिन थाले । फलस्वरुप लिगमा विभागीय टोलीले आफ्नो विरासत जोगाउनै मुस्किल परिरहेको छ ।

जारी शहीद स्मरक ए डिभिजन लिगमा ६ खेल खेल्दा एपिएफ क्लब १० अंकसहित पाँचौं र नेपाल पुलिस क्लब १ अंक सहित तालिकाको पुछारमा छ । १ खेल कम खेलेको त्रिभुवन आर्मी फुटबल क्लब ८ अंकसहित सातौं स्थानमा छ । अंक तालिकाको यो तथ्यांकबाट पनि लिगमा विभागीय टोलीको अवस्था प्रस्ट्याउँछ । कुनै समय घरेलु फुटबलमा एकछत्र वर्चश्व कायम राखेका विभागीय टोलीको प्रदर्शन किन खस्किरहेको छ त ?

गत संस्करणसम्मको नतिजा हेर्ने हो भने साबिक आर्मी क्लबले विभागीय टोलीको इज्जत धानिरहेको देखिन्छ । साविक उपविजेता आर्मीको प्रदर्शन यो संस्करण अपेक्षाकृत छैन । टोलीमा विदेशी खेलाडी राखेको खण्डमा राम्रो नतिजा आउने का लागि सहज हुने भए पनि क्लबले स्वदेशी खेलाडीबाटै नतिजाको अपेक्षा राखेको छ ।

अन्य क्लबहरुले विदेशी खेलाडी भित्र्याउँदै सफलता पाइरहँदा विभागीय टोली भने नेपाली खेलाडीमै निर्भर छ । तर व्यवसायिकरणको अभ्यास थालेसँगै कान्छो विभागीय टोली एपिएफले गत संस्करण पहिलो पटक विदेशी खेलाडी टोलीमा भित्र्यायो ।

एपिएफले गोलरक्षकका रुपमा जापानी खेलाडी युया कुरियामालाई टोलीमा राखेको थियो । त्यस समयदेखि नै अन्य क्लबले जस्तै विदेशी खेलाडी ल्याउन पाउनुपर्ने तर्क पुलिस क्लबको थियो । यो सिजन ६ खेल खेल्दासम्म जितविहीन छ । एक खेलमा बराबरी गरेको पुलिस १ अंक मात्र खातामा जोडेको पुलिस अब भने विदेशी खेलाडी राख्ने आन्तरिक तयारीमा छ ।

एएफसीको प्रावधान अनुरुप विभागीय टोलीले पनि क्लब लाइसेन्सको प्रक्रिया पुरा गरिसकेका छन् । त्यसैले अब ती क्लबहरु पनि विशुद्ध व्यावसायिक हुनेछन । अब उनीहरुलाई जुनसुकै देशका खेलाडी राख्ने अवसर छ ।

६० दशकभन्दा बढिको इतिहास बोकेको लिगमा दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले सुरुवातदेखि खेल्दै आएका छन् । त्यो समय पुलिस क्लब पुलिस फोर्स र आर्मी क्लब आर्मी एघारको नाममा लिगमा सहभागी थिए ।

अर्को विभागीय टोली एपिएफले भने २०६२ सालको लिगदेखि ए डिभिजन खेल्न थालेको हो । यो बीचमा पुलिसले ५ पटक र आर्मीले १ पटक ए डिभिजन लिग जितेको छ । अन्य संस्करण पनि विभागीय टोलीको दरिलो उपस्थिति रहँदै आएको थियो । तर पछिल्लो समय भने विभागीय टोली लिगमा टिक्नै संघर्ष गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्