खेलकूद

एसिसी प्रिमियर कप : मुलपानी मैदान टालटुल (भिडियो रिपोर्टसहित)

२०७९ चैत १५ गते २०:४३
एसिसी प्रिमियर कप : मुलपानी मैदान टालटुल (भिडियो रिपोर्टसहित)

१५ चैत २०७९ काठमाडौं । आईसिसी विश्व क्रिकेट लिग टुमा तेस्रो स्थानमा रहँदै नेपाल ग्लोबल छनोट पुग्दा देशमा उत्साह छाएको छ । स्थानियदेखि केन्द्र सरकारले त खेलाडीहरुलाई नगद पुरस्कारको ताँति नै लगायो ।

मौसमी रुपमा नेतादेखी मन्त्री, प्रधानमन्त्रीले क्रिकेट रंगशाला र यसको पूर्वाधार निर्माण विभिन्न खाले प्रतिबद्धता व्यक्त गरे । तर आगामी महिना नेपालमै हुने अर्को महत्वपूर्ण प्रतियोगिता एसिसी प्रिमियर कपका लागि स्तरीय मैदान नहुँदा नेपालले मुलपानी मैदानलाई टालटुल गरिरहेको छ ।

खेलाडीको लगनशिलताकै कारण नेपालले क्रिकेटमा सफलता पाइरहेको छ । खेलाडीलाई हौसला दिन हजारौं दर्शक मैदानमै पुगिरहेका छन् जसका कारण नेपाली दर्शको चर्चा अन्तर्राष्ट्रियस्तरमै हुने गर्छ । क्रिकेट पूर्वाधारको अवस्था भने दयनीय छ । विश्वकप खेलिसकेको नेपालसँग एउटा पनि स्तरीय रंगशाला छैन ।

तर देशको नेतृत्व गर्नेहरुले नेपालले पाएको सफलतामा क्षणिक चर्चाकै लागि भए पनि रंगशाला निर्माण र स्तरबृद्धिको कुरा गर्न भने छोडेका छैनन् । पछिल्लो समय नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्दा नेतादेखी मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिसम्मले क्रिकेट रंगशाला र पूर्वाधार निर्माणमा चासो देखाए ।

त्रिवि क्रिकेट मैदानमा डे(नाईट खेलहरु संचालन गर्न सकिने गरी बत्ति जडान गर्नेसम्मका कुराहरु भए । तर पूर्वाधार निर्माण र स्तरबृद्धि हुनेमा खुसी भइहाल्ने अवस्था छैन । किनकी यसअघि पनि पटक पटक यस्ता निर्देशन र आश्वासन आए र समयक्रमसँगै सेलाए पनि ।

हेरौँ केही उदाहरण
मुलपानी क्रिकेट रंगशाला

सरकारले १९ वर्षअघि २०६० मा मुलपानीमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने गुरुयोजना ल्यायो । २०६० मै जग्गा प्राप्तिपछि २०७१ देखि ठेक्का लगाएर रंगशाला निर्माणको काम सुरु भयो । तर, राष्ट्रिय गौरवको आयोजनाभित्र समेटिएको यो रंगशाला अहिलेसम्म अधुरै छ ।

खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्लाई रंगशाला निर्माणको जिम्मा दिएको छ । २०७३ असारसम्म सक्नुपर्ने पहिलो चरणको ठेक्का ३ पटक म्याद थपेर २०७५ मा सकाउँदा दोस्रो चरणको ठेक्का सम्झौता अनुसार २०८० मा सम्पन्न हुनु पर्ने हो । तर भइरहेको कामको प्रगति विवरण हेर्ने हो भने तोकिएको समयमा निर्माण सकिन असम्भव छ । दुईवटा ब्लक, जनरल प्यारापिट, एउटा भिआइपी कक्ष, खेलाडीको चेन्जिङ रुमलगायत संरचना निर्माणको चरणमा छ ।

२ सय ९४ रोपनी ११ आना २ दाम जग्गा रहेको यो आयोजना क्षेत्रमा २ रंगशाला बन्दैछन् । माथिल्लो मैदान आइसिसीको आर्थिक सहयोगमा २०६८ मा निर्माण सुरु गरिएको थियो । यही मैदानमा नेपाल क्रिकेट संघ क्यानले एसिसी प्रिमियर कपका खेल संचालन गर्ने तयारी गरेको हो । क्यानको मुख्यालयसमेत रहेको मुलपानी मैदान बाटोसँगै जोडिएकाले यहाँ खेलाडीको सुरक्षामा समेत प्रश्न उठेको छ ।

पोखरा क्रिकेट मैदान
पोखरा रंगशाला परिसर भित्र रहेको यो मैदान निर्माणका लागि २०७३ मै राखेपले १ अर्ब ६३ करोड लागतको डिपिआर तयार गर्यो । तर अहिलेसम्म पनि रंगशाला बन्ने नबन्ने टुंगो छैन । मैदानमा पिच र शौचालयबाहेक अन्य भौतिक संरचना केही छैन । खेल अवधिका लागि अस्थायी संरचना बनाएर यहाँ विभिन्न प्रतियोगिता भने गरिँदै आएको छ ।

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला
धनगढीको फाप्लामा साढे ३८ बिघा क्षेत्रफलमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम निर्माणको घोषणा गरिए पनि डिपिआर निर्माणको कामसमेत अगाडि बढ्न सकेको छैन । ७० हजार दर्शक क्षमता हुने यो रंगशाला निर्माणका लागि करिब १५ अर्ब लागत आँकलन गरिएको छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला
धुर्मुस सुन्तली फाण्डेशनको अग्रसरतामा चितवनमा यो रंगशालाको काम सुरु भएको थियो । तर आर्थिक अभावका कारण मैदान निर्माणको काम अहिले अलपत्र छ ।

यस बाहेक बैजनाथपुर क्रिकेट रंगशाला, बैतडीको सुन्दरखाली क्रिकेट रंगशाला, सैनामैना क्रिकेट मैदान, सिद्धार्थ क्रिकेट रंगशाला, हेटौडाको गौरीटार क्रिकेट रंगशाला, धरानको भक्तराज कन्दङ्वा क्रिकेट मैदान, इटहरी र कोहलपुरमा रहेको क्रिकेट मैदानको स्तरोन्नती गर्ने भनिएको वर्षौ हुँदा समेत त्यसले मुर्तरुप पाउन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्