खेलकूद

घोषणा भएको पुरस्कारै पाउँदैनन् खेलाडी (भिडियो रिपोर्टसहित)

२०७९ चैत ८ गते २०:५६
घोषणा भएको पुरस्कारै पाउँदैनन् खेलाडी (भिडियो रिपोर्टसहित)

८ चैत २०७९ काठमाडौं । कुनै पनि खेलकुदले सफलता पाउँदा स्थानीयदेखि सरकारदेखि विभिन्न संघसंस्थाले खेलाडीका लागि नगद पुरस्कार घोषणा गर्ने तर वितरण नगर्ने समस्या नौलो विषय होइन ।

घोषणा गरिएको पुरस्कारका लागि खेलाडीहरु पटकपटक ती निकायमा धाउन बाध्य भइरहेका छन् । यस्तो उधारो पुरस्कारले खेलाडीलाई हौसला भन्दा पनि निराशा बढाएको छ ।

पूर्वघोषित पुरस्कारबारे अपडेट बुझ्न आएका नेपाली खेलकुदका प्रतिष्ठित खेलाडी र प्रशिक्षकहरु । उनीहरु आज राज्यले घोषणा गरेको पुरस्कार रकम र भत्ता पाउनु पर्ने माग गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवलाई भेट्न आएका हुन् ।

गत अजोज(कार्तिकमा गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा राष्ट्रिय कीर्तिमान बनाउनेलाई ५० हजार र एकल स्पर्धाका स्वर्णपदक विजेतालाई २५ हजार तथा टिम इभेन्टका स्वर्ण विजेतालाई १५ हजार प्रदान गरिने बृहत राष्ट्रिय खेलकुदको कार्यविधिमा उल्लेख छ । तर प्रतियोगिता सकिएको ५ महिना बित्दासमेत पुरस्कार रकम पाउन नसक्दा उनीहरुमा निरास छन् ।

नगद पुरस्कारले खेलाडीहरुमा हौसला र खेलप्रति लगाव बढ्नु पर्ने हो । तर राज्यले नै घोषणा गरेको पुरस्कार समेत नपाउँदा उनीहरुमा सरकारप्रति वितृष्णा जागेको छ । सरोकारवाला निकाय भने प्रक्रियागत कारणले ढिलाई भएको भन्दै थामथुम पारिरहेको छ ।

विगतमा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई सफलता दिलाएका खेलाडीलाई सरकारले प्रोत्साहन भत्ता दिँदै आएको थियो । ओलम्पियनले मासिक ४ हजार, एसियाली खेलकुदका पदक विजेताले प्रति पदक ६ हजार र सागका स्वर्ण पदक विजेताले प्रति पदक ६ हजार रुपैयाँ प्रोत्साहन भत्ता प्राप्त गर्दै आएका थिए । तर त्यो समेत अहिले रोकिएपछि पूर्व खेलाडीले आफूहरुको योगदानलाई राज्यले बेवास्ता गरेको महशुस गरेका छन् ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, नेपाल ओलम्पियन संघ लगायतको नेतृत्वमा राखेप पुगेका खेलाडीले तीन बुँदे मागपत्र बुझाए । उनीहरुले नवौं राष्ट्रिय खेलकुदको स्वर्ण विजेता, सागका स्वर्ण, एसियाली खेलकुदका पदक विजेता र ओलम्पियनलाई विगतमा दिईँदै आएको प्रोत्साहन भत्ता र घोषित पुरस्कार तत्काल उपलब्ध गराउन र १९औं एसियाली खेलकुदको तयारी तत्काल सुरु गर्न माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्