खेलकूद

क्रिकेटमा नेपालको उपलव्धीमा मोन्टीको मेहनत (भिडियो रिपोर्टसहित)

२०७९ चैत ३ गते २०:२०
क्रिकेटमा नेपालको उपलव्धीमा मोन्टीको मेहनत (भिडियो रिपोर्टसहित)

३ चैत २०७९ काठमाडौं । नेपाली क्रिकेटले हासिल गरेको ऐतिहासिक उपलब्धिले खेल क्षेत्रमा उत्साह थपेको छ । टोलीका सदस्यलाई सम्मान र नगद पुरस्कारको घोषणा हुने क्रम शुरु भएको छ ।

नेपालको जितमा पुरै देशनै उत्सवमय छ । नहोस पनि किन, लिग टु सिरिजकै बीचमा निकै उतारचढाव भोगेको नेपाली क्रिकेटले यो सफलता पाउनेमा थोरैमात्र विश्वस्त थिए । यस्तोमा नेपाली टोलीको संकटमोचकका रुपमा आए मुख्य प्रशिक्षक मोन्टी देशाई ।

बिहीबार त्रिवि क्रिकेट मैदानमा उपस्थित १५ हजा भन्दा बढी दर्शकलाई साक्षी राखेर नेपालले यूएईमाथि नाटकीय जित निकाल्दै विश्वकपको ग्लोबल छनोटमा स्थान बनायो । नेपाली टोलीको जितमा सारा देशले खुसीयाली मनाई रहँदा मैदानमा पुगेर प्रत्यक्ष हेरिरहेका दर्शकमा त झन खुसीको सिमानै थिएन् । दर्शकहरुले युवा कप्तान रोहित पौडेल लगायत खेलाडीको प्रदर्शनको खुलेरै प्रशंसा गरे ।

लिग टु को अन्तिम ३ सिरिज बाँकी रहँदासम्म नेपाल अंक तालिकामा दयनीय अवस्थामा थियो । सुरुवाती २४ खेलमा ८ जित र १४ हारसहित १८ अंकमात्र जोड्दै तालिकाको छैटौं स्थानमा रहँदा ग्लोबल छनोट त परको कुरा नेपालको एक दिवसीय मान्यता समेत गुम्ने खतरा थियो ।

यस्तोमा नेपाली टोलीको संकटमोचकका रुपमा देखा परे मुख्य प्रशिक्षक मोन्टी देशाई । ओडिआई मान्यता जोगाउन संघर्ष गरिरहेको नेपाली टोलीलाई उनले १ महिनाको बीचमा उद्दार गर्दै ग्लोबल छनोटमा पुर‍्‍याउन सफल भए । नेपाली टोलीको जिम्मेवारीमा आएदेखिनै उनको पहिलो लक्ष्य थियो ह्याप्पी ड्रेसिङ रुम ।

अर्थात् ड्रेसिङ रुपमा खेलाडीहरुबीच एकता र सौहार्दपूर्ण वातावरण भएको खण्डमा त्यसको नतिजा मैदानमा समेत देखिनेमा उनी विश्वस्त थिए । उनको यो नीति सफल भएको मान्न सकिन्छ । खेलाडीमा पनि उनको आगमनसँगै सकारात्मक सोच र आत्माविश्वास भरिएको देखिन्छ ।

लिग टु मा मात्र नेपाली टोलीमा उमेश पटवाल, डेभ ह्वाटमोर, पुबुदु दासानायिके र मनोज प्रभाकर गरि ४ प्रशिक्षक परिवर्तन भए । अस्थिर प्रशिक्षक र आन्तरिक झमेलामा फस्दै मैदानमा समेत एकपछि अर्को निराशाजनक प्रदर्शन गरेको नेपाली टोलीको प्रशिक्षकको जिम्मेवारी नेपाल क्रिकेट संघ क्यानले भारतीय नागरिक मोन्टी देशाईलाई दिने निर्णय गर्यो । प्रतिकुल समयमा पाएको यो जिम्मेवारीमा उनी खरो उत्रिए र सफल पनि भए ।

उनको प्रशिक्षणमा नेपालले घरेलु मैदानमा एसोसियट क्रिकेटमै सर्वाधिक बलियो मानिने स्कटल्यान्डलाई दुवै खेलमा पराजित गर्यो । नामिबियालाई पनि दुवै खेलमा हराउँदै नेपाल सिरिज क्लिनस्पि गर्दा मोन्टीको सुरुवात दमदार रह्यो । लगतै युएईमा घरेलु टोलीसहित पपुवा न्युगिनी सम्मिलित त्रिकोणात्मक सिरिजमा १ खेल हारेपनि बिहिबार घरेलु मैदानमा सम्पन्न सिरिज फेरी क्लिनस्विप गर्न नेपाल सफल भयो ।

यसो त मोन्टी नेपालका लागि नौलो नाम होइन् । यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा पहिलो पटक टि ट्वेन्टी विश्वकप खेल्दा मोन्टी पनि प्रशिक्षक टोलीमा थिए । त्यस्तै सन् २०१७ मा नेपालले एसिसी यु १९ एसिया कपमा भारतलाई हराउँदा मोन्टी नेपालका ब्याटिङ सल्लाहकार थिए । कुनै पनि क्रिकेटमा नेपालले भारतलाई हराएको त्यो पहिलो अवसर थियो । यहि टोलीका अधिकांश खेलाडीले अहिले राष्ट्रिय टोलीबाट लोभलाग्दो प्रदर्शन गरिरहेका छन् ।

नेपाल आउनु अघि उनी २०१९ देखि २०२२ डिसेम्बरसम्म वेस्टइन्डिजको ब्याटिङ प्रशिक्षकको जिम्मेवारीमा थिए । उनकै प्रशिक्षणमा निकोलस पुरन, शिम्रन हेटमायर, काइल मेयर्स जस्ता विश्वस्तरीय ब्याटर वेस्टइन्डिजले पाएको थियो । वेस्टइन्डिज अघि उनी युएईको ब्याटिङ प्रशिक्षक, क्यानडाको मुख्य प्रशिक्षक, अफगानिस्तका ब्याटिङ प्रशिक्षक रहिसकेका छन् ।

इन्डियन प्रिमियर लिग आइपिएलमा गुजरात लायन्स र राजस्थान रोयल्सको प्रशिक्षण टोलीमा काम गरिसकेका उनले यसअघिनै नेपालमा काम गर्न इच्छा राखे पनि क्यान आइसिसीको निलम्बनमा हुँदा त्यो सम्भव हुन सकेन । क्यानमा नयाँ नेतृत्व आए पछि नेपालले लगातार प्रस्ताव गरे पनि आइपिएलको कार्य व्यस्तताका कारण उनी आउन सकेनन् । तर ढिलै भए पनि नेपाली टोली हेर्न आएको छोटो समयमै उनले जुन छाप टोली र खेलाडीमा छोडेका छन् त्यो साँचैनै अद्भुत छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्