खेलकूद

नेपालले जोगायो एक दिवसीय मान्यता, एशोसियट क्रिकेटमा विरासत फर्काउन समेत सफल (भिडियो रिपोर्टसहित)

२०७९ फागुन २८ गते २०:२७
नेपालले जोगायो एक दिवसीय मान्यता, एशोसियट क्रिकेटमा विरासत फर्काउन समेत सफल (भिडियो रिपोर्टसहित)

२८ फागुन २०७९ काठमाडौं । लिग टु अन्तर्गत अन्तिम त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा यूएईविरुद्ध ऐतिहासिक जित निकाल्दै नेपालले ओडीआई मान्यता कायम राखेको छ ।

योसँगै आगामी ४ वर्ष नेपाल ओडीआई राष्ट्रका रुपमा रहनेछ । १ महिना अघिसम्म लिग टुको अंक तालिकामा दयनीय अवस्थामा रहेको नेपालले छोटो अन्तरालमा अंक तालिका सुधार मात्र गरेन एशोसियट क्रिकेटमा आफ्नो विरासत समेत फर्काउन सफल भएको छ ।

राष्ट्रिय क्रिकेट टोली भित्र एकताको अभाव, नेपाल क्रिकेट संघ र खेलाडीबीचको विवाद, अस्थिर प्रशिक्षक र कप्तान परिवर्तन जस्ता मैदान बाहिरका घटनाले मैदान भित्र समेत नेपालको प्रदर्शन लगातार खस्किरह्यो । यसले क्यानसमेत एक पछि अर्को आलोचना खेप्न बाध्य भयो भने दर्शकमा समेत चरम निराशा छाइसकेको थियो ।

लिग टु अन्तर्गत आफ्नो अन्तिम ३ सिरिज अघि अंक तालिकाको छैटौं स्थानमा रहँदा नेपालको ओडीआई मान्यता समेत धरापमा परेको थियो । १ महिना अघिसम्ममात्र दयनीय अवस्थामा रहेको नेपालले छोटो अन्तरालमा राम्रै फड्को मारेको छ । आइतबार यूएईमाथि कीर्तिमानी जित निकाल्दै नेपालले थप ४ वर्षका लागि ओडीआई मान्यता कायम राख्दै एसोसिएट क्रिकेटमा आफ्नो विरासत समेत फर्काएको छ ।

सन् २०१८ मा पहिलो पटक ओडीआई राष्ट्रको मान्यता पाएसँगै नेपालले सात राष्ट्र सम्मिलित लिग टु सिरिज खेल्ने अवसर पायो । सिरिजमा २०१८ देखि २०२२ सम्म चार वर्षको अवधिमा नेपालले नौ वटा सिरिजमा कुल ३६ एक दिवसीय खेल्न पायो । तर अपेक्षित नतिजा निकाल्न नसक्दा नेपालको स्तर समेत खस्किरहेको थियो ।

अझ लिग टु अन्तर्गत स्कटल्यान्ड र नामिबिया भ्रमणमा खेलेका ८ खेलमा नेपालले ३ अंक मात्र जोड्न सक्यो । यससँगै नेपालको ओडीआई हैसियत गुम्ने चिन्ता एकातिर थियो भने अन्तिम सिरिजमा नेपाललाई जितको विकल्प समेत थिएन् । तर घरेलु मैदानमा नामिबिया र स्कटल्यान्ड सम्मिलित सिरिजबाट शान्दार पुनरागमन गर्दै नेपालले एक् दिवसिय मान्यता जोगाएको छ । यो १ महिनाको अन्तरालमा अहिलेसम्म नेपालले ३ वटा सिरिजमा १० खेल खेल्दा ९ खेल जितेको छ । खेलाडीसँगै प्रशिक्षक मोन्टी देशाईलाई यो जितको श्रेय जान्छ ।

लिग टु को अन्तिम ३ सिरिज अगाडि मात्र मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका देशाईको पहिलो चुनौती नै नेपालको ओडिआई मान्यता जोगाउनु थियो । जहाँ उनी सफल भए । मोन्टीको प्रशिक्षणमा खेलाडीमा पनि जितको भोक देखिन्छ ।

४ वर्षका लागि ओडीआई मान्यता त जोगियो अब नेपालको अर्को लक्ष्य भनेको विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनु हो । यसका लागि नेपालले अब बाँकी २ वटै खेल जित्नु पर्ने हुन्छ । लिग टु को अंक तालिकाको शीर्ष ३ मा पर्न सकेको खण्डमा नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्ने छ । यसका लागि नेपालले सोमबार पिएनजी र बिहीबार पुनः युएईसँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्