खेलकूद

विश्वकप लिग–२ क्रिकेटमा नेपाल विजयी, पपुवा न्युगिनी ५२ रनले पराजित

हिमालय टिभी
२०७९ फागुन २५ गते १६:५८
विश्वकप लिग–२ क्रिकेटमा नेपाल विजयी, पपुवा न्युगिनी ५२ रनले पराजित

२५ फागुन २०७९ काठमाडौं । आईसिसी विश्व क्रिकेट लिग टु अन्तर्गत घरेलु मैदानमा जारी सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी पिएनजीलाई ५२ रनको फराकिलो अन्तरले हराएको छ ।

त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाललाई जित दिलाउन ओपनर आसिफ शेखले शतक र सन्दीप लामिछानेले शान्दार बलिङ गरे । जितसँगै शीर्ष ३ मा रहँदै सोझै विश्वकप छनोट खेल्ने र ओडिआई मान्यता जोगाउने नेपालको सम्भावना बलियो बनेको छ ।

२ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको पिएनजी ४७ ओभर १ बलमा २ सय ४५ रनमा अलआउट भयो । पहिलो विकेटका लागि टोनी उरा र किप्लिङ डोरिगाले ७७ रनको साझेदारी गर्दै पिएनजीलाई उत्कृष्ट सुरुवात दिलाए । तर १२ औं ओभरमा डोरिगा २६ रनमा रन आउट भए । अर्का ओपनर टोनी ५० रनमा क्याच आउट भए ।

मध्येक्रममा कप्तान असद भालाले ४२ रन बनाएर पाली सम्हाल्ने कोशिस गरेपनि अन्य ब्याटर टिक्न नसक्दा नर्मन भानुवाले पिएनजीलाई सम्हाले । ४८ औं ओभरको पहिलो बलमा सर्वाधिक ६० रन बनाएका भानुवा रन आउट भए । नेपालको जितमा सन्दीप लामिछानेले ४, दीपेन्द्रसिंह ऐरीले २ र कुशल मल्लले १ विकेट लिए ।

यसअघि टस गुमाएर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९ ओभर १ बलमा सबै विकेट गुमाएर २ सय ९७ रन बनायो । नेपालले आफ्नो एक दिवसिय अन्तर्राष्ट्रिय इतिहासमा बनाएको यो सर्वाधिक उच्च योगफल हो । यसअघि नेपालको उच्च योगफल २ सय ८७ रन थियो । नामिबियाविरुद्ध दुई साताअघि नेपालले २ सय ८६ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा २ सय ८७ रन बनाएको थियो ।

त्यस्तै सुरुवाती पहिला ब्याटिङ गर्दा गतवर्ष पिएनजीविरुद्धको दोस्रो ओडिआईमा २ सय ७८ रन बनाएको थियो । नेपालको जितमा ओपनर आसिफ शेखले १ सय १० बलमा १२ चौका र २ छक्कासहित १ सय १० रनको सानदार शतकीय इनिङ खेलेका थिए । आसिफको यो अन्तर्राष्ट्रिय क्रिकेट करिअरको पहिलो शतक समेत हो ।

अर्का ओपनर कुशल भुर्तेलले ४५ तथा भीम सार्कीले ४४ रन जोडे । कप्तान रोहित पौडेलले पनि ३० रनको योगदान दिए । बलिङतर्फ सेमो कमिया एक्लैले पाँच विकेट लिए भने रिली हेकुरेको नाममा तीन विकेट रह्यो । जितसँगै नेपालले ३३ खेलबाट ३४ अंक जोडेको छ । सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले फागुन २८ गते युएईसँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्