आर्थिक

अर्थतन्त्रमा अराजक गतिविधि ! (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ फागुन २० गते १८:३८
अर्थतन्त्रमा अराजक गतिविधि ! (भिडियो रिपोर्टसहित)

२० फागुन २०७९ काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाविरुद्ध अराजक गतिविधि हुन थालेका छन् ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कालोमोसो दल्नेदेखि कर्जाको साँवा व्याज नतिर्न सार्वजनिक आह्वान गरिरहेका छन् । तर राष्ट्र बैंकले यस्ता अराजक गतिविधि तत्काल रोक्न निर्देशन दिदै ऋण मिनाह हुने परिकल्पना नगर्न आग्रह गरेको छ ।

गत कात्तिकदेखि देशभरका उद्योगी व्यवसायीले बैंक तथा वित्तीय संस्थाको ब्याजदर वृद्धिको विरोधमा सडक प्रदर्शन गरिरहेका छन् । पछिल्लो समय लघुवित्तका ऋणीहरु आफुले लिएको ऋण मिनाह हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।

यही बीचमा फागुन १ गते झापामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई साक्षी राखेर व्यवसायी दुर्गा प्रसाईंले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कालोमोसो दल्न उक्साए ।

बैंकको पाँच अर्ब भन्दा बढी ऋण लिएर व्यवसाय गरिरहेका प्रसाईले आफ्नो स्वार्थका लागि कानुनविपरित अभिव्यक्ति दिएको केही दिनमै जाजरकोटको भेरी नगरपालिकामा एक लघुवित्तका कर्मचारीलाई कालोमोसो दलियो ।

गृहमन्त्रालयले वित्तीय संस्था विरुद्ध यस्ता अराजक गतिविधि रोक्न र आवश्यक सुरक्षा व्यवस्था मिलाउन देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले यस्ता गतिविधिले समाजमा थप अराजकता बनाउने भन्दै अराजक गतिविधी गरेर ऋण तिर्न पर्दैन भन्ने परिकल्पना पनि नगर्न आग्रह गरेको छ ।

कोरोना महामारीले तीन वर्ष शिथिल अर्थतन्त्र रुस–युक्रेन युद्धका कारण थप समस्यामा परेको छ। व्यापार, व्यवसायमा मन्दी सृजना भएको छ । बैंक तथा वित्तीय संस्थाको ब्याजदर १८ प्रतिशतसम्म पुगेको छ । यसले उद्योगी व्यवसायी थप मर्कामा परेकाछन् । यो अवस्थामा बैंकहरुले ऋणीलाई कर्जा भुक्तानीमा अनावश्यक दबाव दिएको आरोप लागेको छ । तर आन्दोलन र उश्रृङखल गतिविधि गरेर समस्या हल हुने भन्दा पनि थप बल्झिने र समाजलाई बढी अराजक बनाउने छ ।

बैंकबाट लिएको कर्जाको साँवा ब्याज फिर्ता नगर्दा सर्वसाधारणले बैंकमा बचत गरेको रकम फिर्ता गर्न अप्ठ्यारो पर्न सक्छ । यतिमात्र होइन यसले समग्र मुलुकको अर्थतन्त्रै संकटमा पुग्छ । तसर्थ सरकारले यस्ता अराजक गतिविधि संचालन गर्नेलाई तत्काल कारबाही गरी समस्यामै रहेका व्यवसायी र ऋणीलाई राहत दिने नीति अपनाउन जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *