खेलकूद

यू-१९ क्रिकेट नेपालका लागि राम्रो ब्याकअप (भिडियो रिपोर्टसहित)

२०७९ फागुन १९ गते २०:४९
यू-१९ क्रिकेट नेपालका लागि राम्रो ब्याकअप (भिडियो रिपोर्टसहित)

१९ फागुन २०७९ काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को एसोसियट सदस्यमध्ये उमेर समुहमा नेपाल बलियो टोली मानिन्छ । ७ पटक १९ वर्षमुनिको विश्वकप खेलिसकेको नेपालले पछिल्ला तीन संस्करण भने गुमाउन पुग्यो ।

विश्वकपको आगामी संस्करणका लागि भएको छनोट प्रतियोगितामा पनि झण्डै हारिकसकेको खेल जितेर नेपालले आठ वर्षपछि विश्वकपमा पुनरागमन सुरक्षित गरेको छ । यो प्रतियोगिताले नेपाललाई विश्वकपमा छनोट हुने मौकामात्र दिएन, यसले सिनियर टिमका लागि पनि राम्रो ब्याकअप दिएको छ ।

श्रीलंकामा हुने आईसिसी यु १९ विश्वकपका लागि एसिया छनोटको अन्तिम खेलमा दुई दाबेदार टोली युएई र नेपालबीच भएको अन्तिम खेलमा चमत्कार भयो । एक सय ९२ रनको सामान्य लक्ष्य भेट्टाउनै लागेको युएईको बाटोमा नेपाली स्पिनर दिपेश कंडेलले तगारो हाले ।

जितका लागि युएईलाई १८ बलमा ११ रन चाहिएको थियो भने उसको हातमा तीन विकेट बाँकी नै थियो । तर, ४८औं ओभरमा कँडेलले ह्याट्रिक विकेट लिँदा अंक तालिकामा युएईलाई पछि पार्दै नेपालले श्रीलंका विश्वकपमा स्थान बनाउन सफल भयो ।

श्रीलंकामा अर्को वर्ष हुने विश्वकपमा आईसीसीका ११ पूर्ण सदस्य राष्ट्रहरु स्वत छनोट भइसकेका छन् । १६ टिमको सहभागिता रहने विश्वकपमा एसिया, अमेरिका, युरोप, पूर्वी एसिया प्रशान्त क्षेत्र र अफ्रिका छनोट जितेर आएका एउटा एउटा टोलीले प्रतिष्पर्धा गर्नेछन् ।

अब उमेर समुहमा युवा टोलीले आठौं पटक विश्वकप खेल्नेछ । यसअघि नेपालले सन् २०००, २००२, २००४, २००६ र २००८ मा लगातार ५ पटक यु १९ विश्वकप खेलेको थियो । यसै टोलीबाट कप्तान पारस खड्का सहितका शरद भेषावकर, शक्ति गौचन, वसन्त रेग्मी, ज्ञानेन्द्र मल्ल जस्ता खेलाडीहरू उदाए । जुन नेपाली क्रिकेटको सुनौलो युगका रुपमा समेत लिईन्छ । यही टोलीले नेपाललाई डिभिजन फाइभबाट एक दिवशीय मान्यता दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

ग्लोबल क्वालिफायरको उपविजेता बन्दै २०१२ र विजेता बन्दै २०१६ मा नेपाल विश्वकपमा पुगेको थियो ।

नेपाल ८ वर्षपछि विश्वकपमा फर्किएको मात्र छैन, पछिल्लो केहि वर्षदेखी लगातार ओरालो लागिरहेको उमेर समुहको टोलीलाई एशोसिएट क्रिकेटमा पुन आफ्नो हैकम पुनरागमन गराउने मौका पनि छ । सिनियर खेलाडीलाई प्रतिस्थापन गर्ने भएकाले १९ वर्षमुनिको टोलीलाई राष्ट्रिय टिमको ब्याकअप भनिन्छ । सिनियर टोलीमा प्रवेश गर्नै लाग्दा उनीहरुलाई थप प्रतियोगिता र प्रोत्साहन प्रदान गर्नु जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्