खेलकूद

आइसिसी लिग–२ : नेपाललाई त्रिकोणात्मक सिरिजको उपाधि

हिमालय टिभी
२०७९ फागुन ९ गते १७:०४
आइसिसी लिग–२ : नेपाललाई त्रिकोणात्मक सिरिजको उपाधि

९ फागुन २०७९ काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिदेशीय एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज नेपालले क्लीन स्वीप गरेको छ ।

त्रिवि मैदान कीर्तिपुरमा आज सम्पन्न सिरिजको चौथो तथा अन्तिम खेलमा नेपालले स्कटल्याण्डलाई २ विकेटले हराउँदै लगातार चौथो जित निकालेको हो । योसँगै नेपाल लिग टू अन्तर्गतको त्रिदेशीय सिरिजमा शतप्रतिशत नतिजा निकाल्ने पहिलो टोली बनेको छ ।

यस्तै नेपाल लिग टूको सिरिजमा स्कटल्याण्डलाई लगातार दुई खेलमा पराजित गर्ने पहिलो टोली बन्यो । स्कटल्याण्डले दिएको २ सय १३ रनको लक्ष्य नेपालले ४४ ओभर १ बलमा ८ विकेट गुमाएर पूरा गर्‍यो । कप्तान रोहितकुमार पौडेलले अर्को एउटा उत्कृष्ट इनिङ खेल्दै नेपाललाई महत्वपूर्ण जित दिलाएका हुन् ।

हारको संघारमा पुगिसकेको टिमलाई उद्दार गर्ने क्रममा पौडेलले नवौं विकेटका लागि करण केसीसँग निर्णायक साझेदारी गरे । कुनै पनि ब्याट्सम्यानले टिकेर खेल्न नसक्दा नेपालले १३८ रनमै आठ विकेट गुमाउन पुग्यो । हार निश्चित देखिएको अवस्थामा रहेको नेपाललाई रोहित र करणको साझेदारीले जोगायो । पौडेल ९५ रनमा अविजित रहँदा करणले पनि ३१ रन बनाएर साथ दिए ।

ज्ञानेन्द्र मल्ल २१, कुशल मल्ल १७ र आशिफ शेख १२ रनमा आउट हुँदा नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । लगातार चौंथोपटक टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको स्कटल्यान्ड ४६ दशमलब १ ओभरमा २१२ रन बनाउँदा अलआउट भयो ।

स्कटल्याण्डका लागि जर्ज मुन्सेले सर्वाधिक ६० रन बनाए । म्याथ्यु क्रसले ४२ र ब्रान्डन म्याकुलेनले ३१ रन जोडे । काएल कोएत्जर र क्रिस म्याब्राइजले समान २२ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिँदा करण केसीको नाममा ३ विकेट रह्यो ।

योसँगै करणले एक दिवसीयमा ५० विकेट पूरा गरेका छन । ललित राजवंशी र कुशल मल्लले १( १ विकेट लिए । नेपाल २८ खेलमा १२ मा जित र १४ मा हारसहित २६ अंकका साथ छैटौं स्थानमा छ । स्कटल्याण्ड ३६ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा छ ।

स्कटल्याण्ड गत बुधबार नामिबियासँगको जितसँगै ३ खेल अगाबै विश्वकप लिग टूको च्याम्पियन बनेको थियो । जिम्बाबेमा हुने विश्वकप छनोटमा समेत स्कटल्याण्डले स्थान पक्का गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्