खेलकूद

स्पट फिक्सिङको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दायर

हिमालय टिभी
२०७९ फागुन ८ गते १७:३४
स्पट फिक्सिङको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दायर

८ फागुन २०७९ काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर मोहमद आदिल आलम, पूर्वराष्ट्रिय खेलाडी महबुब आलमसहित ५ जनाविरुद्ध जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गरेको अनुसन्धानको आधारमा जिल्ला वकिलको कार्यालय, काठमाडौंले अदालतमा मुद्दा दायर गरेको हो । नेपाल ट्वेन्टीट्वेन्टी लिगमा स्पट फिक्सिङ भएको आशंका सार्वजनिक भएपछि ब्यूरोका डीएसपी सुन्दर तिवारीको संयोजकत्वमा छानबिन समिति गठन भएको थियो ।

समितिले गरेको अनुसन्धानका क्रममा १२ जनाको संलग्नता पुष्टि भएको प्रहरीले जनाएको थियो । तीमध्ये आदिल र महबुबसहित वीरगञ्जका स्थानीय क्रिकेट खेलाडी नितेश गुप्ता पक्राउ परेका थिए । ती बाहेक काठमाडौं नाइट्स टिमका कोवोनर नविन कँडेल र सप्तरीका रवि माझीलाई पनि फरार प्रतिवादीका रुपमा मुद्दा दर्ता गरिएको छ ।

बाँकी ७ जनाको नाम, थर र ठेगाना खुलेपछि मुद्दा दायर गरिने जनाइएको छ। उनीहरुविरुद्ध राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३१, ३२ र ३३ अनुसार कारबाही गर्न माग दाबी गरिएको छ ।

ऐन अनुसार यस्ता गतिविधिमा संलग्नलाई तीन वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था छ । लेनदेनको रकम खुले त्यो समेत जफत हुने व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्