खेलकूद

व्यवस्थित मैदान नभएपनि खेल गतिविधि बढ्दै

२०७९ फागुन ८ गते १२:३९
व्यवस्थित मैदान नभएपनि खेल गतिविधि बढ्दै

८ फागुन २०७९ दमौली । तनहुँका सात वटा पालिकामा हालै मात्र राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भयो ।

राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताअन्तर्गत भलिबल, हाइजम्प, लङजम्प, दौडलगायतका विधामा खेलाडीले सहभागिता जनाए । जिल्लाका व्यास, शुक्लागण्डकी र भानु नगरपालिका, बन्दीपुर, घिरिङ, म्याग्दे र आँबुखैरेनी गाउँपालिकाले राष्ट्रपति रनिङशिल्ड सम्पन्न गरिसके भने बाँकी स्थानीय तहले तयारी गरेका छन् ।

जिल्ला खेलकुद विकास समिति तनहुँले सबै पालिकालाई रनिङशिल्ड प्रतियोगिता गर्न आग्रह गरेको छ । प्रदेश खेलकुद परिषद्को निर्णयानुसार फागुन १५ गतेभित्र जिल्लास्तरीय रनिङशिल्ड प्रतियोगिता सम्पन्न गरी जिल्लास्तरीय प्रतियोगिताबाट छनोट भएका खेलाडीको नाम प्रदेशस्तरमा पठाइने खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिनुभयो ।

बुधबार मात्रै दमौली बजारमा अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सम्पन्न भयो । प्रतियोगितामा १५ विद्यालयले सहभागिता जनाए । जिल्लामा बास्केटबल प्रतियोगिता आयोजना भएको पहिलो पटक हो ।

जिल्लामा केही समययता खेलकुदका गतिविधि बढ्न थालेको छ । खेलकुदका गतिविधि सञ्चालन भइरहँदा खेलाडीले प्रतिभा प्रस्फुटन गर्ने अवसर पाएका छन् । जिल्ला खेलकुद विकास समिति तनहँुका अध्यक्ष पाण्डे खेलकुदका गतिविधि वृद्धि हुनु सकारात्मक रहेको बताउनुहुन्छ । “जिल्लामा खेलकुदका कार्यक्रम सञ्चालन हुनु राम्रो कुरा हो, खेलकुदका कार्यक्रम सञ्चालन भइरहँदा खेलाडीले क्षमता प्रदर्शन गर्ने अवसर पाएका छन्”, पाण्डेले भन्नुभयो ।

खेलकुदका गतिविधि बढे पनि जिल्लामा व्यवस्थित खेलमैदान भने छैन । यसतर्फ सम्बन्धित स्थानीय तहले चासो देखाउनुपर्छ । “जे जस्तो छ त्यही अवस्थामा खेलकुद भइरहेका छन्, व्यवस्थित खेलमैदान नहुनु जिल्लाका लागि चुनौती हो”, पाण्डेले भन्नुभयो ।

बन्दीपुर गाउँपालिकामा पालिकास्तरीय प्रथम अध्यक्ष कप २०७९ फुटबल तथा भलिबल प्रतियोगिता हुने भएको छ । आगामी फागुन १२ गतेदेखि वडा नं ४ भुमर्सेमा रहेको पालिकास्तरीय खेलमैदानमा अध्यक्ष कप सञ्चालन गर्न लागिएको हो । खेलमार्फत अनुशासन र गतिशिलता दिनका लागि प्रथम अध्यक्ष कप आयोजना गरिएको गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताउनुभयो ।

प्रतियोगितामा दुवै खेलतर्फ प्रथम हुनेलाई रु ३० हजार, द्वितीयलाई रु २० हजार र तृतीयलाई रु १० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र र सान्त्वना पुरस्कार रु पाँच हजार प्रदान गरिनेछ ।

प्रतियोगितामा सहभागी हुन पालिकाले सबै वडामा पत्राचार गरिसकेको छ । सम्बन्धित वडाले फागुन १० गतेभित्र समूह प्रमाणित गरी गाउँपालिकाको शिक्षा शाखामा बुझाउनु पर्नेछ । हरेक वडाबाट दुवै खेलमा तीन/तीन वटा टिमले सहभागिता जनाउन सक्नेछन् ।

म्याग्दे गाउँपालिका–४ मनहरिस्थित आदर्श नमुना क्लबको आयोजनामा फागुन १९ देखि ११औँ आदर्श तथा छैटौँ तारा स्मृति कप प्रतियोगिता हुँदैछ । क्लबले हरेक वर्ष सेभेन ए साइड फुटबल प्रतियोगिता गर्दै आइरहेको छ ।

‘युवाको कामना, सकारात्मक परिवर्तनमा आदर्श नमुना’ भन्ने नारासहित फुटबल प्रतियोगिता गर्न लागिएको क्लबका अध्यक्ष मलिन मल्लले जानकारी दिनुभयो । फागुन २७ सम्म सञ्चालन हुने प्रतियोगितामा विजेतालाई नगद रु एक लाख र उपविजेतालाई रु ५० हजार प्रदान गरिनेछ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट डिफेन्डरलाई समेत पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ । क्लबले २०६८ सालदेखि निरन्तर प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । तनहुँ फुटबलको इतिहासमा ११ वर्षसम्म अनवरतरुपमा प्रतियोगिता आयोजना गर्ने आदर्श नमुना क्लबमात्रै रहेको दाबी गरिएको छ । व्यास नगरपालिका–५ चुँदेर युवा क्लबले आगामी फागुन २९ गतेदेखि चैत ७ गतेसम्म प्रथम उपमेयर कप सेभेन ए साइड फुटबल प्रतियोगिता गर्दैछ । प्रतियोगितामा विजेतालाई रु दुई लाख दुई हजार दुई सय २२ र उपविजेतालाई रु एक लाख ११ हजार एक सय ११ प्रदान गरिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्