खेलकूद

विश्वकप लिग–२ क्रिकेटमा नेपाल विजयी, स्कटल्याण्ड ३ विकेटले पराजित

हिमालय टिभी
२०७९ फागुन ५ गते १७:०१
विश्वकप लिग–२ क्रिकेटमा नेपाल विजयी, स्कटल्याण्ड ३ विकेटले पराजित

५ फागुन २०७९ काठमाडौं । आईसिसी विश्व क्रिकेट लिग टु अन्तर्गत जारी सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई ३ विकेटले हराएको छ ।

त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा लिग टु च्याम्पियन स्कटल्याण्डलाई हराउँदै नेपालले अंक तालिका सुधार गरेको हो । २ सय ७५ रनको लक्ष्य नेपालले ३ ओभर बाँकी छँदै ७ विकेट गुमाएर पुरा गर्‍यो । ४७ औं ओभरको अन्तिम बलमा क्रिस सोलले फालेको बललाई सोमपाल कामीले चौका प्रहार गर्दै नेपाललाई जित दिलाए ।

नेपाललाई शान्दार जित दिलाउन दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले अर्धशतकीय पाली खेले । दीपेन्द्रले १ सय १६ बलमा ८ चौका र १ छक्कासहित नटआउट ८५ रन बनाए । एक दिवसिय करिअरमा दीपेन्द्रको यो दोस्रो उत्कृष्ट प्रदर्शन हो ।

सोमपाल कामीले ३२ बलमा ३ चौकासहित नटआउट २४ रन बनाए । त्यस्तै कुशल मल्लले ६७ बलमा ९ चौका र ४ छक्कासहित ८१ रनको उत्कृष्ट पाली खेले । कुशलले ४२ बलमा एक दिवसियमा आफ्नो दोस्रो अर्धशतक बनाएका हुन् । बलिङमा सोल र मार्क वाटले ३(३ विकेट लिए ।

यसअघि टस गुमाएर पहिले ब्याटिङका लागि बोलाइएको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७४ रन बनायो । मध्यम सुरुवात गरेको स्कटल्याण्डका लागि अलराउन्डर माइकल लिस्कले विष्फोटक शतकीय पाली खेल्दा नेपाल सामु विशाल लक्ष्य पेश गर्यो । मध्येक्रमका लिस्कले ८५ बलमा ३ चौका र ९ छक्कासहित नटआउट १ सय ७ रनको शान्दार शतकीय पाली खेले ।

सुरुवाती ब्याटरहरु सस्तैमा आउट हुँदा एक समय स्कटल्याण्डले १ सय ११ रन बनाउँदा महत्वपूर्ण ६ विकेट गुमाइसकेको थियो । दयनीय अवस्थाबाट लिस्कले अविश्वसनीय पूनरागमन गराउँदै एक दिवसीय क्रिकेटमा व्यक्तिगत १ हजार रन समेत पूरा गरे ।

पहिलो पटक नेपाल भ्रमणमा आएको स्कटल्याण्डकविरुद्ध सन्दीप लामिछानेले १० ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । त्यस्तै, कुशल मल्लले २ विकेट लिँदा सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए । जितसँगै नेपाल २६ खेलमा १० जित सहित २२ अंकका साथ छैटौं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्