खेलकूद

फुटबल खेलाडी विदेश पलायन, ए डिभिजन लिगलाई खेलाडी पाउन कठिन (भिडियो रिपोर्टसहित)

२०७९ माघ २३ गते २०:३८
फुटबल खेलाडी विदेश पलायन, ए डिभिजन लिगलाई खेलाडी पाउन कठिन (भिडियो रिपोर्टसहित)

२३ माघ २०७९ काठमाडौं । घरेलु फुटबलको शीर्ष श्रेणी ए डिभिजन लिगको नयाँ संस्करण फागुनदेखि हुँदैछ ।

लिगको तयारीमा रहेका क्लबहरु खेलाडी अनुबन्ध गर्दै तयारीमा जुटिरहेका छन् । तर अघिल्लो संस्करण लिग खेलेका र राष्ट्रिय टोलीबाटै खेलिरहेका अधिकांश खेलाडी विदेश पलायन भएसँगै क्लबहरुलाई यस सिजनका लागि खेलाडी जुटाउनै सकस परिरहेको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले यस सिजनको लिग फागुन १९ गतेदेखि सुरु गर्दैछ । यसका लागि एन्फाले सहभागी १४ वटै क्लबलाई तयारी खर्च स्वरुप पहिलो किस्तामा १५ लाख रुपैयाँ वितरण गरिसकेको छ । क्लबहरु पनि खेलाडी अनुबन्ध गर्दै तयारीलाइृ तिव्रता दिइरहेका छन् । तर बजारमा स्तरीय खेलाडीको अभाव हुँदा लिग नै फितलो हुने हो कि भन्ने आशंका उनीहरुलाई छ ।

घरेलु फुटबल प्रतियोगिता समयमै आयोजना हुन नसक्दा पछिल्लो समय दैनिक जसो नै खेलाडी विदेशीरहेका छन् । गत साता मात्र ए डिभिजन लिगको साबिक विजेता मछिन्द्र क्लब तथा राष्ट्रिय टोलीका भरपर्दा मिडफिल्डर विशाल राई पनि अष्ट्रलिया भासिए ।

राष्ट्रिय टोलीका अधिकांश युवा खेलाडीले नेपाल छोडिसकेका छन् । यहि वर्षमात्र ४० भन्दा बढि खेलाडी विदेशीए भने थप खेलाडी पनि जाने तयारीमा छन् । राष्ट्रिय टोलीका नीतिन थापा, नीरकुमार राई, सन्तोष तामाङ, तेज तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, त्रिदेव गुरुङ, मिक्छेन तामाङ, सुमन अर्याल, दर्शन गुरुङ, हेमन्त थापा मगर जस्ता खेलाडी यो सूचीमा छन् ।

अनुभवी खेलाडीको अभावमा क्लबहरुको ध्यान युवा खेलाडीमा तानिएको छ । यसलाई उनीहरुले पनि सकारात्मक मान्छन् । तर अनुबन्ध भएका खेलाडी पनि लिगकै समयमा विदेश उड्ने चिन्ताबाट गुज्रिरहेका क्लबहरुले विदेशी खेलाडीको कोटा बढाउन माग गरेका छन् ।

ए डिभिजनका १४ मध्ये ३ विभागीय बाहेक अन्य ११ वटा क्लबले विदेशी खेलाडीको कोटा बढाउन एन्फालाई ज्ञापनपत्र बुझाएका छन् । एक सिजनका लागि १ जना दक्षिण एसियालीसहित ४ विदेशी खेलाडीलाई क्लबले दर्ता गर्न सक्ने छन् । विदेशी खेलाडीको कोटा बढाउनु तत्कालका लागि विकल्प हुन सक्ला तर एक पछि अर्को स्तरीय खेलाडी वैदेशिक रोजगारीका लागि देश छोड्नुले नेपाली फुटबललाई भने दीर्घकालिन असर पर्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्