‘बाआमाको भत्ता उहाँहरुकै हातमा’
२१ माघ २०७९ पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका–४ ले वृद्धवृद्धाको सामाजिक सुरक्षा भत्ता घर घरमै पु-याउने गरेको छ ।
“बाआमाको भत्ता बाआमाकै हातमा” नारा अघि सारेको सो वडाले वडाले ३० असक्त वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता घर–घरमै उपलब्ध गराउँदै आएको छ ।
अर्धवार्षिक समीक्षा कार्यक्रममार्फत चालु अर्थिक वर्ष २०७९÷८० को ८० प्रतिशत काम सम्झौता सम्पन्न भएको वडाध्यक्ष लोककिरण न्यौपानेले बताउनुभयो । पचास प्रतिशत काम सम्पन्न भएको, ३० प्रतिशत काम सञ्चालन र २० प्रतिशत सम्झौता हुन बाँकी रहेको उहाँको भनाइ थियो ।
वडाले अर्धवार्षिक समीक्षा कार्यक्रममार्फत ‘विपन्नलाई बीमा, छैन कुनै सीमा’ नाराअन्तर्गत १०० विपन्न परिवारको स्वास्थ बीमा गरेको छ । त्यस्तै ‘किसानको आधार, वडाको भर” अन्तर्गत आठ सय किसानलाई बीउबिजन वितरण गरेको छ ।
वडाले बाली विज्ञानमा दुई विद्यार्थीलाई पूर्ण छात्रवृत्ति र एक विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गरेको जनाएको छ । वडाले स्मार्ट विद्यालय कार्यक्रमअन्तर्गत चार सामुदायिक विद्यालयलाई हाजिर मेसिनसमेत वितरण गरेको छ ।
उक्त वडाले नगरबाट विनियोजित रु १० लाखको मर्मतकार्य सम्पन्न गरेको छ भने प्रदेश सरकारको रु एक करोडको लागतमा सामुदायिक भवन निर्माण कार्य हाल जारी छ । यस्तै वडाका ३४ स्थानमा सडक बत्ती जडान गरिएको वडाध्यक्ष न्यौपाने जानकारी दिनुभयो ।
प्रतिक्रिया