प्रहरी आफै असुरक्षित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ माघ २० गते २०:३२
प्रहरी आफै असुरक्षित (भिडियो रिपोर्टसहित)

२० माघ २०७९ काठमाडौं । नागरिकको सुरक्षा र कानुन कार्यान्वयनका लागि ठूलो सञ्जाल भएको निकाय हो नेपाल प्रहरी । तर, प्रहरी आफै आधारभूत आवश्यकताका वस्तुसमेत प्राप्त गर्न नसक्दा कमजोर मनस्थितिमा देखिन्छ ।

हाल रहेका २६ सय प्रहरी कार्यालयमध्ये ९ सयको त आफ्नो भवनसम्म छैन । कतिसम्म भने कयौं प्रहरी कार्यालयमा त शौचालयसमेत छैन ।

काठमाडौंको सुरक्षा व्यवस्था सम्हालेको हनुमान ढोका प्रहरी विगत ७ वर्षदेखि यी अस्थायी टहरामा छ । प्रहरी जवान मक्किएको त्रिपाल मुनी रात विताइरहेका छन् । त्रिपाल वरिपरि झाडी छ र सँगै ढल बागिरहेको छ ।

२०७२ वैशाख १२ को भूकम्पले हनुमानढोकाबाट विस्थापित भएर टेकुस्थित नेशनल ट्रेडिङको कार्यालयमा आश्रय लिन पुग्यो । यो अस्थायी आश्रयस्थलमा गम्भीर अपराधको अनुसन्धान गर्ने एउटा गतिलो कोठा समेत छैन । बयान लिनु पर्ने ब्याक्तिको गोपिनियता समेत कायम गर्ने मुस्किल छ । प्रहरीले स्थायी व्यवस्थापनका लागि गरिरहेको ताकेताको सुनवाई भएको छैन ।

काठमाडौंकै मुख्य प्रहरी कार्यालयको त यो हविगत छ भने दुरदराजका प्रहरी चौकीहरुको के अवस्था होला ? अनुमान गर्न कठिन छैन ।

करिब ८० हजार जनशक्ति रहेको नेपाल प्रहरीका देशभर २६ सय ६० युनिटमध्ये ८ सय ६३ युनिटको आफ्नै कार्यालय भवन छैन । तीमध्ये ३ सय ४२ युनिटलाई भाडाको भवनमा र ५ सय २१ युनिटलाई यस्तै कमजोर संरचनामा बसालिएको छ ।

८ सय ७९ युनिटमा त शौचालय नै छैन । नागरिकको सुरक्षामा खटिनुपर्ने प्रहरीलाई कार्यालयको चिन्ता देखिन्छ । स्तरोन्नतिसहित १२ सयभन्दा बढी स्थानमा प्रहरी कार्यालय स्थापनाका लागि दबाब छ । भएकै जनशक्तिलाई प्रहरीले भवन दिन सकेको छैन । सरकारले समयमा बजेट दिएमा प्रहरी कार्यालयहरु बनाउन सकिने प्रहरी बताउछ ।

प्रहरीको जिम्मेवारी संवेदनशिल हुन्छन् । आम नागरिकलाई सुरक्षा प्रदान गर्ने यो संयन्त्रको हिरासतदेखि हतियारसम्मको संवेदनशीलता सरकारले बेवास्ता गरिरहेको छ ।

संगठनका आफ्ना संरचना नै चुहिने र मक्किने अवस्थामा प्रहरीले आम नागरिकको सुरक्षा, उनीहरुप्रतिको जिम्मेवारी कसरी बहन गर्न सक्ला ?

आम नागरिक प्रहरीले सुरक्षा गर्छ भन्ने आशामा हुन्छन् । प्रहरी त्रिपाल र मक्किएका भवनबाट आफैलाई असुरक्षित महसुस गरिरहँदा नागरिकको सुरक्षा प्रत्याभूति कसरी होला ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *