खेलकूद

विवादका कारण क्यानको बैठक अघि बढ्न सकेन

हिमालय टिभी
२०७९ माघ १७ गते १७:३३
विवादका कारण क्यानको बैठक अघि बढ्न सकेन

१७ माघ २०७९ काठमाडौं । ७ केन्द्रीय सदस्यले अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग गरेर बहिष्कार गरेपछि नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठक रोकिएको छ ।

क्यानका असन्तुष्ट ७ जना केन्द्रीय सदस्यले अध्यक्ष चन्दलाई राजीनामा माग गर्दै पत्र बुझाएर बैठकबाट बाहिरिएका हुन् । पोखरामा बिहान १० बजेका लागि बोलाईएको बैठक असन्तुष्ट पक्ष ढिला पुगेपछि दिउँसो १ बजेमात्र सुरु भएको थियो । तर सुरुवातमै ७ जना केन्द्रीय सदस्यको तर्फबाट ऋषिराम गौतमले अध्यक्ष चन्दको राजीनामा माग गर्दै पत्र बुझाए ।

अध्यक्ष चन्दको राजीनामा माग्नेमा गौतमसँगै दाउद अन्सारी, करण महतरा क्षेत्री, संजयराज सिंह, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरी छन् ।

उनीहरुले हालै सम्पन्न नेपाल ट्वेन्टी– ट्वेन्टी लिगमा भएको स्पट फिक्सिङ, खेलाडीको पारिश्रमिक विवाद र साझेदार कम्पनीसँगको गैरकानुनी सम्झौतामा क्यान नेतृत्वले जिम्मेवारी लिनु पर्ने माग गर्दै आएका थिए ।

क्यान नेतृत्वले गल्ती स्विकार गरेर पन्छिनु भन्दा राजीनामा गरेर छानविनलाई सघाउनु पर्ने केन्द्रीय सदस्यहरुको माग छ ।

चार महिनापछि बसेको क्यान बोर्ड बैठकका लागि लिग विवाद, मुख्य प्रशिक्षक नियुक्ति, पूर्व कप्तान सन्दीप लामिछाने निलम्बन फुकुवा, लिग टु त्रिकोणात्मक सिरिज आयोजना, एसिसी प्रिमियर कप आयोजना लगायत १७ एजेन्डा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्