खेलकूद

चितवनमा निर्माणाधीन क्रिकेट रङ्गशाला बन्ने-नबन्ने अन्योलमा (भिडियो रिपोर्टसहित)

२०७९ माघ १० गते २१:०८
चितवनमा निर्माणाधीन क्रिकेट रङ्गशाला बन्ने-नबन्ने अन्योलमा (भिडियो रिपोर्टसहित)

१० माघ २०७९ काठमाडौं । चितवनमा निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला अब बन्ने कि नबन्ने भन्ने अन्योलमा छ ।

यो आर्थिक वर्षको नीति तथा कार्यक्रममा रंगशाला निर्माणको कामलाई पूर्णता दिन सरकारले समन्वय र सहजीकरण गर्ने बताइएपनि त्यसले सार्थकता पाएको छैन । फलस्वरुप देश विदेशका नेपालीको पहलमा उठेको रकम र राज्यको लगानी बालुवामा पानी खन्याए जस्तो हुने खतरा बढेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मस सुन्तली फाउण्डेसन सुरुमा जति उत्साही थियो, अहिले ठीक विपरीत छ । धुर्मुस सुन्तली फाउण्डेसनले जनताको रकमबाट रंगशाला निर्माण गर्ने ठूलो अभियान सुरु गरेपनि अहिले १८ करोड ऋण लागेको छ ।

त्यही ऋणको भारबाट छुटकारा पाउनका लागि फाउण्डेसनले निर्माणको जिम्मा महानगरपालिकालाई सुम्पिएको छ । ३ अर्ब ५५ करोड लागत अनुमान गरिएको रंगशालाको ३५ प्रतिशत काम सकिँदा झण्डै ५८ करोड खर्च भएको छ । त्यसमा फाउण्डेसनको नाममा १८ करोड ४३ लाख दायित्व छ । नीति तथा कार्यक्रममा सरकारले समन्वय र सहजीकरण गर्ने भने पनि प्रक्रियागत अवरोहका कारण रंगशाला निर्माणको कामले गति लिएको छैन । जसका कारण स्थानीय पनि निराश छन् ।

संघीय सरकारले २२ करोड र प्रदेश सरकारले ५ करोड विनियोजन गरेका छन् । महानगरपालिकाको आफ्नै आन्तरिक आयबाट समेत ८ करोड हाराहारी लगानी गरिसकेको छ । धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माणका क्रममा लागेको ऋण तिर्ने उपाय नजुट्दा रङ्गशालाको काम अघि बढ्न सकेको छैन ।

५७ करोड ९२ लाख रूपैयाँ खर्च भइसकेको धुर्मुस–सुन्तली फाउन्डेसनको दाबी छ । ऋण तिर्ने विषयमा भने उसले ठोस प्रतिक्रिया दिएको छैन । तर, उसले केही दिनमै आफ्नो स्थिति र खर्च विवरण सार्वजनिक गर्ने हिमालय टेलिभिजनलाई अनौपचारिक रुपमा जानकारी दिएको छ । भरतपुर महानगरपालिका १५ स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि सरकारले बजेट छुट्टयाएको भए पनि काम अगाडि बढेको छैन । यस्तै अवस्था रहे आगामी दिनमा निर्माण प्रक्रियालाई अगाडि बढाउनसमेत चुनौती छ ।

त्रिभुवन विश्वविद्यालयको नाममा रहेको कृषि तथा वनविज्ञान विश्वविद्यालयले भोगचलन गरेको २० बिघा ६ कट्ठा जग्गा उपलब्ध रंगशाला निर्माणका लागि उपलब्ध गराइएको थियो । अहिलेसम्म करिब तीन हजार क्षमताको प्याराफिट बनिसकेको छ । अन्य प्याराफिट निर्माणका लागि बनाइएका ठूला–ठूला पिलर अहिले अलपत्र छन् । लाखौँ रूपैयाँ खर्चिएर ल्याइएका दुबो रोपिएको खेल मैदान अहिले झाडीले भरिएको छ । निर्माण सामग्री अलपत्र छन् । ठूलो लगानी भइसकेको रंगशाला यसरी अलपत्र पर्दा खेल र खेलाडीसँगै देशलाई नै नोक्सानी भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्