आर्थिक

उखु छ, मिल खै, उत्पादन छ, भुक्तानी खै ? (भिडियो रिपोर्टसहित)

२०७९ पुष २५ गते १८:२५
उखु छ, मिल खै, उत्पादन छ, भुक्तानी खै ? (भिडियो रिपोर्टसहित)

२५ पुस २०७९ कैलाली । उखु किसानले आफ्नो उत्पादनको भुक्तानी लिनका लागि बेहोर्नुपर्ने झन्झटको पराकाष्ठा अवर्णनीय छ । उखु किसानको काठमाडौँ आगमन र माइतीघर मण्डलामा विरोधस्वरूप उत्रनुपर्दाको पछाडि थुप्रै पीडा र दुःख भरिएका छन्, जसलाई राज्यले बुझेको छैन ।

उखुको न्यूनतम मूल्य निर्धारण भएको छैन भने चिनी मिललाई उधारोमा बेच्नुपरेको छ । कैलालीमा त चिनी मिल नै नहुँदा सक्खर उद्योगलाई सस्तोमा उखु बेच्नुपर्ने अवस्था छ ।

यिनी हुन् भर्थरी चौधरी । कैलालीको बर्दगोरिया गाउँपालिकाको वडा नम्बर २ मा २० बिघा जमिनमा दुई दशक भन्दा बढी समयदेखि उखु खेती गर्दै आएका छन् ।

कुनै समय लम्की चुहामा रहेको बासुलिङ चिनी मिलमा उखु बेचेको उनलाई याद छ । तर, आजकल उनको उखु मिलमा नभई सक्खर उद्योगमा विक्री हुने गरेको छ । भारतीय खुला सीमा भएका कारण उनको उखु भारतीय सख्खर उद्योगमा विक्री हुन्छ । तर, भनेजति पैसा आउँदैन । जति आउँछ त्यसैमा चित्त बुझाउनुपर्ने बाध्यता छ ।

भर्थरी जस्तै गोपाल कुँवरले उखु खेती गर्न थालेको २५ वर्ष भयो । दुई बिघामा उखु लगाएका छन् । २०६२ सालसम्म रहेका बासुलिलिङ चिनी मिल बन्द भए देखि कुँवर पनि समस्यामा छन् ।

सरकारी मूल्यमा उखु बेच्न पाइन्छ कि भन्ने उनको अपेक्षा भने अहिलेसम्म पूरा भएको छैन । अन्य जिल्लामा रहेका उखु किसान चिनी मिलबाट, सरकारबाट ठगिइरहँदा यहाँ भने मिल नै छैन । भारतीयको भर परेर खेतीमा गरेको खर्चको पनि पैसा नउठ्दा उखु किसान निराश छन् ।

२०५४ सालदेखि संचालनमा आएको मिल द्वन्द्व र कच्चा पदार्थको अभावका कारण २०६२ सालयता पूर्ण रुपमा बन्द छ । २०६१ सालमा पहिलो पटक बन्द भएको मिल केही समयपछि सुरु भयो । तर, वर्ष दिन नपुग्दै २०६२ मा बन्द भएको मिल मुलुकमा राजनीतिक व्यवस्था परिवर्तन भएर शान्ति स्थापनापछि पनि सञ्चालनमा आउन सकेन । भारतीय सख्खर उद्योगलाई मनोमानी मूल्यमा कतिपयले बाध्यताले उखु बेचिरहेका छन् । तर, कतिपयले भने पेसा नै छोड्न थालेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *