खेलकूद

नेपाली क्रिकेटलाई असफल पार्न गिरोह लागेको आशंका (भिडियो रिपोर्टसहित)

२०७९ पुष २० गते २१:२९
नेपाली क्रिकेटलाई असफल पार्न गिरोह लागेको आशंका (भिडियो रिपोर्टसहित)

२० पुस २०७९ काठमाडौं । पारिश्रमिक नपाएसम्म नखेल्ने खेलाडीहरुको अडानले नेपाल टि ट्वेन्टी लिग अन्तर्गत मंगलबारको पहिलो खेल निर्धारित समयमा हुन सकेन ।

क्यान पदाधिकारीसँगको छलफलपछि खेलाडीहरु मैदानमा ओर्लिए तर पारिश्रमिकको विषय नटुङ्गिएमा यसले फेरि अर्को विवाद निम्त्याउन सक्ने भय कायमै छ । विवादका पछाडी क्यान र नेपाली क्रिकेटलाई असफल पार्ने गिरोहको हात रहेको क्यान पदाधिकारीहरुको आशंका छ ।

काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्सका खेलाडीले पारिश्रमिक नपाएसम्म नखेल्ने निर्णय गर्दै टस समेत हुन नसक्दा मंगलबारको पहिलो खेल अन्यौलमा पर्यो । आयोजक क्यानका पदाधिकारीले खेलाडीसँग लामो छलफल गर्दै तत्कालका लागि खेल सञ्चालन गराए ।

लिगमा फिक्सिङ हुने गरेको आरोप लाग्दा सम्बन्धित खेलाडीहरुले नै फिक्सिङको प्रस्ताव आएको र आउने गरेको स्वीकार गरेका छन् । यसले खेल क्षेत्र नै तरंगित बनायो । तर आयोजक क्यानले भने पछिल्ला घटना र विवादका पछाडि क्यानलाई असफल बनाउने समुहको हात रहेको दाबी गर्छ ।

हिमालय टेलिभिजनसँगको संवादमा निर्देशक खनालले क्यानको वर्तमान कार्यसमिति र सिंगो नेपाली क्रिकेट नै असफल बनाउन केही व्यक्तिहरु लागि परेको आरोप लगाउनुभयो ।

लिगमा फिक्सिङका केहि घटना भएको खण्डमा प्रमाण सहित क्यान कार्यालय वा नेपाल टी–ट्वान्टी लिगको एन्टी करप्सन युनिट एसयूमा उजुरी गर्न समेत क्यानले आग्रह गरेको छ । यता पारिश्रमिकका विषयमा खेलाडीलाई आश्वस्त बनाए पनि विवाद साम्य नहुँदा बल्झने खतरा देखिन्छ ।

नीतिगत ब्यवस्थाका कारण टिम मालिकहरुले पारिश्रमिक दिन ढिलाई भएको र दुई दिनमा खेलाडीले पारिश्रमिक पाउने क्यानको दाबी छ । तर क्यान आफैं पनि आफ्नो साझेदार सेभेन थ्री स्पोर्ट्सले दिन बाँकी दस्तुर नदिएकाले विकल्प खोजिरहेको छ । सेभेन थ्रीले लिगका लागि क्यानलाई ८ वर्षको ३३ करोड रुपैयाँ दिने गरी सम्झौता गरेको थियो । जसमा पहिलो वर्ष ३ करोड ९० लाख रुपैयाँ प्रतियोगिता सुरु हुने एक दिनअघि क्यानको खातामा जम्मा भइसक्नुपर्ने थियो । तर क्यानले अहिलेसम्म लाइसेन्स फिका रूपमा कम्पनीबाट १ करोड २० लाख रुपैयाँमात्र पाएको छ । लिग आयोजनालाई लिएर दायर मुद्दाको छिनोफानो पनि हुन सकेको छैन ।

यस्तोमा सेभेन थ्री स्पोर्ट्सले पनि बाँकी रकम तत्काल दिन हिच्किचाइरहेको छ । गोप्य राखिएका टिम मालिकहरुबाट खेलाडीलाई पारिश्रमिक उपलब्ध गराउन क्यान कत्तिको सफल हुने हो त्यो हेर्न बाँकी छ । खेलाडीलाई दिएको समयसिमा भित्र क्यानले पारिश्रमिकको विषय नटुङ्ग्याए लिग पुन अन्यौलमा पर्ने पक्का छ । यसले नेपाली क्रिकेट अन्तर्राष्ट्रिय रुपमा समेत बदनाम हुने भएकाले सरोकारवाला सबै सजग भएर समाधानमा लाग्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्