खेलकूद

नेपाल टी-ट्वेन्टी लिगमा स्पट फिक्सिङ ! सीआईबीबाट अनुसन्धान सुरु (भिडियो रिपोर्टसहित)

२०७९ पुष १९ गते २१:३६
नेपाल टी-ट्वेन्टी लिगमा स्पट फिक्सिङ ! सीआईबीबाट अनुसन्धान सुरु (भिडियो रिपोर्टसहित)

१९ पुस २०७९ काठमाडौं । जित हार र रोमाञ्चक प्रतिस्पर्धाको समाचार आइरहने त्रिवि क्रिकेट मैदानबाट मंगलबार आएको खबरले क्रिकेट मात्र नभई नेपाली खेल क्षेत्रनै तरंगित बन्यो । नेपाल ट्वेन्टी–ट्वेन्टी लिगमा स्पट फिक्सिङ भइरहेको आरोप लाग्यो ।

त्यसको केही समयपछिनै नेपाली टोलीका पूर्व कप्तान समेत रहेका ज्ञानेन्द्र मल्लले त्यसमा बल पुग्ने गरी फिक्सिङको प्रस्ताव आएको बताएपछि यो विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले समेत अनुसन्धान सुरु गरेको छ । जारी लिगमा फिक्सिङको आशंका सुरुदेखि नै गरिएको भए पनि आज सम्बन्धित खेलाडीले नै प्रस्ताव आएको बताएपछि नेपाली क्रिकेट फिक्सरको हातमा परेको त छैन भन्ने गम्भरी प्रश्न उब्जिएको छ ।

मंगलबार बिहान एकाएक यो भिडियोले नेपाली क्रिकेट क्षेत्र तरंगित भयो । भिडियोमा देखिएका व्यक्ति हुन राजधानीमा जारी नेपाल ट्वेन्टी ट्वेन्टी लिगमा कमेन्ट्रि गर्दै आएका सचिन तिमल्सिना । मंगलबार बिहान त्रिवि क्रिकेट मैदानमा खेलाडीहरु पारिश्रमिक नपाएसम्म खेल नखेल्ने अडान लिरहँदा तिमल्सिनाले सामाजिक सञ्जालमार्फत् क्यान र नेपाल ट्वेन्टी ट्वेन्टी लिगमा फिक्सिङ हुने गरेको दाबीसहित यो भिडियो पोष्ट गरे । यो विषयमा आयोजक क्यान, एन्टिकरप्सन अफिसरदेखि विभिन्न निकायलाई बताए पनि कुनै पहल नभएको उनको गुनासो छ ।

सचिनको यो भनाइ सार्वजनिक भएपछि क्रिकेट समर्थक पक्ष विपक्षमा तर्क गरिरहँदा त्यसको केहि समयपछि राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा जारी लिगमा काठमाडौं नाइट्सको कप्तानी गरिरहेका ज्ञानेन्द्र मल्लको अभिव्यक्तिले यसमा थप बल पुर्‍यायो । विराटनगर सुपर किङ्ससँगको खेलपछि पोष्ट म्याच कन्फ्रेन्समा मल्लले आफ्ना एक खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको खुलाए ।

सहभागी खेलाडीले फिक्सिङको प्रस्ताव आएको र सम्बद्ध व्यक्तिले नेपाली क्रिकेट फिक्सरको हातमा गएको भनिरहँदा नेपाली क्रिकेटको सर्वोच्च निकाय क्यान भने त्यो मान्न तयार छैन् । खेलका क्रममा खेलाडीबाट हुने गरेका सामान्य गल्तीलाई फिक्सिङसँग जोडेर हेर्न नहुने र लिगको एन्टिकरप्सन अफिसरहरुले प्रतियोगिताको प्रत्येक बलमा गम्भीर अध्यनन गरेको क्यानको दाबी छ ।

यसअघि पनि गत मंसिरमा नेपाल र युएईबीच भएको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटका क्रममा फिक्सिङ गरेको आरोपमा सीआईबीले प्यारापिटबाटै ठूलो संख्यामा दर्शकलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले नियन्त्रणमा लिएका ति ४४ जना भारतीय नागरिक बेटिङमा संलग्न भएको प्रहरीले बताएको थियो । लिगका लागि क्यानले बेटिङ पृष्ठभूमिको भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई कमर्सियल अधिकार दिएसँगै यसमा शंकाहरु उब्जिएका थिए ।

समाचार संकलनको क्रममा मैदानमा संचारकर्मीमाथि लगाइएको पाबन्दी र टिम मालिकलाई समेत गोप्य राख्नुले यो आशंकालाई थप प्रश्रय दियो । गृह मन्त्रालयले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीलाई फिक्सिङबारे अनुसन्धान र छानबिन गर्न निर्देशन दिएको छ । अब सीआईबीले मात्रै हैन क्यानदेखि राष्ट्रिय खेलकुद परिषद् र खेलकुद मन्त्रालयसमेतले खेलमा भएको भनिएको मिलेमतोको गम्भीर अनुसन्धान गर्न जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्