उखुको मूल्य निर्धारण नहुँदै चिनी उद्योग सञ्चालनमा, किसानको यस्तो चिन्ता (भिडियो रिपोर्टसहित)

८ पुस २०७९ सर्लाही । उखुको मूल्य निर्धारण नहुँदै देशैभरीका चिनी उद्योग सञ्चालनमा आएका छन् । मूल्य नतोकिँदै उद्योगहरु सञ्चालनमा आउँदा किसान भने अन्योलमा परेका छन् ।
वर्षदिनसम्म दुःख गरेर उब्जाएको बाली बिना मूल्य उधारोमा बेच्नुपर्ने अवस्था आएको भन्दै किसानले चिन्ता व्यक्त गरिरहेका छन् ।
पुसको पहिलो हप्ताबाट क्रसिङ तयारी गरेका चिनी उद्योगले धमाधम उखु क्रसिङ सुरु गरेका छन् । सर्लाहीमा पनि तीन उद्योग मध्ये दुई वटाले बुधवारबाट क्रसिङ सुरु गरेका हुन् । सरकारले यस सिजनको लागि उखुको मुल्य तय नगरेपछि किसानले उधारो मुल्यमै उखु बेचिरहेका छन् ।
गत वर्ष किसानले सरकारी अनुदानको प्रतिक्वीन्टल ७० रुपैयाँसहित उखुको मूल्य ५ सय ९० रुपैयाँ पाएका थिए । यस वर्ष उखुको मूल्य कम्तिमा पनि प्रतिक्वीन्टल सात सय रुपैयाँ निर्धारण गर्न किसानका विभिन्न संघसंस्थाले माग गर्दै आएका छन् । तर, त्यसबारेमा कुनै निष्कर्ष नआउँदै उद्योगले क्रसर सुरु गर्दा सरकार र उद्योगीबीच सेटिङ रहेको किसानले आशंका गर्न थालेका छन् ।
समयमै नकाटे सुख्खा मौसमको कारण उखु खेतबारीमा सुक्ने अवस्था आउँछ । तराई मधेशका जिल्लामा असोजदेखि पानी परेको छैन। यसले पनि किसानलाई उखुको उत्पादन घट्ने डर छ ।
सर्लाहीमा अहिले इन्दुशंकर चिनी उद्योग र महालक्ष्मी चिनी उद्योगले क्रसिङ सुरु गरिसकेका छन् । यता, क्रसर उद्योगले भने सरकारले तोकेको मूल्य अनुसार किसानको भुक्तानी गर्ने गरी उखु खरिद सुरु गरेको जनाएको छ ।
यता, उद्योग र सरकार किसानको उखुको मुल्य समयमै तय गर्ने सवालमा उदासिन देखिएका किसान नेताको आरोप छ । मूल्य निर्धारण जस्तो कुरामा आलटाल गर्दा किसान उधारोमा उखु बेच्न बाध्य भएका छन् ।
सर्लाही देशकै सबैभन्दा धेरै उखु उत्पादन हुने जिल्लामा पर्छ। सर्लाहीपछि महोत्तरी, धनुषा, रौतहट, बारा, सिरहा, सप्तरी सुनसरी, मोरङ, पर्सा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरसहित तराई–मधेसका सबैजसो जिल्लाका किसानले व्यावसायिक रूपमा धेरथोर उखु खेती गरिरहेका छन् ।
प्रतिक्रिया