
३ पुस २०७९ काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनल खेल आज हुँदैछ ।
कतार विश्वकपको फाइनलमा अर्जेन्टिना र फ्रान्सबीच प्रतिष्पर्धा हुनेछ । लुसिल स्टेडियममा हुने फाइनल खेल नेपाली समय अनुसार राति ८ः४५ बजे शुरु हुनेछ ।
दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना र युरोपियन राष्ट्र फ्रान्स तेस्रो पटक विश्वकप उपाधि उचाल्ने योजनासहित मैदान उत्रनेछन् । दुवै देशले हालसम्म समान दुई विश्वकप जितेका छन् ।
अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप ट्रफी हात पारेको थियो । फ्रान्सले सन् १९९८ र २०१८ मा विश्वकप ट्रफी चुमेको थियो । लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना छैटौं पटक विश्वकपको फाइनल पुगेको हो ।
मेसीका लागि कतार विश्वकप अन्तिम विश्वकप समेत हो । मेसीकै लागि भए पनि अर्जेन्टिनालाई विश्वकप उचाल्ने दबाब छ । साविक विजेतासमेत रहेको फ्रान्स लगातार दोस्रो पटक विश्वकप उचाल्ने अभियानमा छ ।
विश्वकफ फुटबलको फाइनल नेपालमा हिमालय टेलिभिजन एचडी र हिमालय टेलिभिजन प्रिमियममा प्रत्यक्ष प्रशारण हुनेछ ।
प्रतिक्रिया