प्याब्सकले अन्तर विद्यालय फुटसल कप आयोजना गर्ने

१८ मंसिर २०७९ काठमाडौं । मंसिर २० र २१ गते अन्तर विद्यालय ‘फुटसल कप–२०२२’ आयोजना हुने भएको छ ।
निजी तथा आवासीय विद्यालय संगठन काठमाडौँ प्याब्सकको आयोजनामा फुटसल प्रतियोगिता हुने भएको हो । आज आयोजित पत्रकार सम्मेलनमा प्याब्सकले ३२ वटा विद्यालयले सहभागिता जनाउने जनाएको छ ।
कार्यक्रम संयोजक राजु पुडासैनीका अनुसार प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई नगद सहित मेडल र प्रमाणपत्र समेत प्रदान गरिने छ । साथै वेस्ट प्लेअर, म्यान अफ दि म्याच लगायतका पुरस्कार वितरण गरिनेछ ।
कार्यक्रममा प्याब्सक अध्यक्ष गेन्द्र लामाले ०६१ सालमा स्थापना भएको यस संस्थाले विगतदेखि नै विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
यस्तै, प्याब्सक महासचिव राजन श्रेष्ठले विद्यार्थीको बौद्धिक क्षमतामा अभिवृद्धि गर्न, विद्यालयबीचका विद्यार्थीमा आत्मियताको भावना जागृत गर्न, फुटसल कप आयोजना गरिएको बताउनुभयो ।
प्रतिक्रिया