खेलकूद

विश्वकप फुटबलमा अर्जेन्टिना साउदी अरेबियासँग पराजित

हिमालय टिभी
२०७९ मंसिर ६ गते १८:४०
विश्वकप फुटबलमा अर्जेन्टिना साउदी अरेबियासँग पराजित

६ मंसिर २०७९ काठमाडौं । उपाधि दाबेदार अर्जेन्टिनाले विश्वकप फुटबलको पहिलो खेलमै हार व्यहोरेको छ ।

आज भएको खेलमा साउदी अरेबियासँग २–१ गोल अन्तरले पराजित हुँदै अर्जेन्टिनाले हारबाट विश्वकपको सुरुआत गरेको हो । लुसाइल स्टेडियममा साउदी अरेबियाले अर्जेन्टिनाविरुद्ध पुनरागमन गर्दै जित निकालेको हो ।

साउदीले अर्जेन्टिनाविरुद्ध निकालेको यो पहिलो जित हो । प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता अर्जेन्टिनाले बनाएको थियो । कप्तान लियोनल मेस्सीले १० औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । साउदीका साउद अब्दुलहामिदले अर्जेन्टिनाका लिन्ड्रो पारेडेसलाई पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि भीएआरको सहायताले रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टी दिएको हो ।

जसमा मेस्सीले सहजै गोल गरे । पेनाल्टी गोलसँगै मेस्सी चार फरक संस्करणको विश्वकपमा गोल गर्ने पहिलो अर्जेन्टिनी खेलाडी बने । तर, दोस्रो हाफमा साउदीले उत्कृष्ट पुनरागमन गर्यो । खेलको ४९ औं मिनेटमा सलेह अल शेहरीले गोल गर्दै साउदीलाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ५३ औं मिनेटमा सलिम अल्दावसरीले उत्कृष्ट गोल गर्दै साउदीलाई २–१ को जित दिलाए । यस जितसँगै समूह सीको साउदीले पहिलो खेलमै ३ अंक जोडेको छ । साउदी समूहको शीर्ष स्थानमा रहेको छ ।

अर्जेन्टिना पुछारमा रहेको छ । यस हारसँगै अर्जेन्टिनाको ३६ खेलको अपराजित यात्रा समेत टुंगिएको छ । यस्तै अर्जेन्टिना ३२ वर्षपछि विश्वकपको पहिलो खेलमा पराजित भएको हो । सन् १९९० मा इटालीमा भएको विश्वकपमा अर्जेन्टिना क्यामरुनसँग पहिलो खेलमा पराजित भएको थियो ।

प्रतिक्रिया

One thought on “विश्वकप फुटबलमा अर्जेन्टिना साउदी अरेबियासँग पराजित

Leave a Reply

Your email address will not be published.