खेलकूद

युएईविरुद्ध ३ खेलको एक दिवसीय सिरिजमा नेपाल २-१ ले विजयी

हिमालय टिभी
२०७९ मंसिर २ गते १६:५८
युएईविरुद्ध ३ खेलको एक दिवसीय सिरिजमा नेपाल २-१ ले विजयी

२ मंसिर २०७९ काठमाडौं । आसिफ शेख र ज्ञानेन्द्र मल्लले कीर्तिमानी शतकीय साझेदारी गर्दा युएईविरुद्ध ३ खेलको एक दिवसीय सिरिज नेपालले २–१ ले जितेको छ ।

त्रिवि क्रिकेट मैदानमा आज सम्पन्न तेस्रो तथा निर्णायक खेलमा युएईलाई ६ विकेटले हराउँदै नेपालले सिरिज आफ्नो पक्षमा पारेको हो । १ सय ७७ रनको विजयी लक्ष्य नेपालले ४०‍‍‍‍‍ ओभर १ बलमा ४ विकेट गुमाएर भेट्टायो ।

२४ रन बनाउँदा ओपनर अर्जुन साउदलाई ९ रनमा गुमाएको नेपालका लागि अर्का ओपनर आसिफ र ज्ञानेन्द्र मल्लले १ सय २२ रनको साझेदारी गर्दै नेपाललाई जित नजिक पुर्‍याए । दोस्रो विकेटका लागि नेपालले एक दिवसीय अन्तर्राष्ट्रियमा बनाएको यो अहिलेसम्मकै उच्च ठूलो साझेदारी हो ।

गत वर्ष ओमानविरुद्ध आसिफ र ज्ञानेन्द्रलेनै दोस्रो विकेटका लागि ९५ रनको साझेदारी गरेका थिए । समग्रमा भने एक दिवसियमा यो नेपालको दोस्रो ठूलो साझेदारी हो । गतवर्षनै पपुवा न्युगिनीविरुद्ध तेस्रो विकेटका लागि देव खनाल र दीपेन्द्रसिंह ऐरीले १ सय २९ रनको शतकीय साझेदारी गरेका थिए ।

नेपालको जितको आधार तय गरेका ज्ञानेन्द्र ३४ ओभरको पहिलो बलमा स्पिनर आयन अफजल खानबाट एलबिडब्लु धरापमा परे । उनले ७३ बलमा ७ चौका र ३ छक्कासहित ६४ रन बनाए । ज्ञानेन्द्रको यो हालसम्मको उच्च पाली हो ।

२ वर्षअघि ओमानविरुद्ध उनले ५६ रन बनाएका थिए । रोहित पौडेल १० रनमा आउट हुँदा आसिफले नेपाललाई जित दिलाए । २ पटक जिवनदान पाएका उनले १ सय १९ बलमा १२ चौकासहित नटआउट ८८ रन बनाए । आसिफ र ज्ञानेन्द्र दुवैको एक दिवसिय करिअरमा यो पाँचौं अर्धशतक हो ।

युएईका आयान र हजरत बिलालले १(१ विकेट लिए । यसअघि, टस गुमाएर पहिले ब्याटिङका लागि बोलाईएको पाहुना टोलीले पुरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ७६ रन बनायो । ३ खेलको एक दिवसिय सिरिजको पहिलो खेलमा नेपाल ८४ रनले र दोस्रो खेलमा युएई ३ विकेटले हारेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *