खेलकूद

नेपाल–पाकिस्तान मैत्रीपूर्ण फुटबलमा अञ्जनको गोलमा नेपाल विजयी

हिमालय टिभी
२०७९ कार्तिक ३० गते २०:३५
नेपाल–पाकिस्तान मैत्रीपूर्ण फुटबलमा अञ्जनको गोलमा नेपाल विजयी

३० कात्तिक २०७९ काठमाडौं । स्ट्राइकर अञ्जन विष्टको निर्णायक गोलको सहयोगमा बुधबार नेपाली राष्ट्रिय फुटबल टोलीले पाहुना टोली पाकिस्तानविरुद्धको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले ३ वर्षको फिफा प्रतिबन्धपछि फुटबलमा फर्किएको पाकिस्तानलाई १–० ले स्तब्ध बनाएको हो । ८३ औं मिनेटमा अञ्जनले सुनिल बलको क्रस पासलाई सदुपयोग गर्दै गोल गरे ।

क्रस बललाई अञ्जनले आकर्षक शैलीमा जाली चुमाउन सफल भएका हुन् । यससँगै अञ्जनले राष्ट्रिय टोलीका लागि ११ औं गोल पनि पूरा गरेका छन् । अन्जन सर्वाधिक गोलकर्ता रहेका हरि खड्का र निराजन रायमाझी भन्दा दुई गोलले पछि छन् । यसअघि असोज ११ मा दशरथ रंगशालामा सम्पन्न बंगलादेशबिरुद्धको मैत्रीपूर्ण खेलमा अञ्जनको ह्याट्रिकमा नेपालले ३–१ को जित निकालेको थियो ।

बुधवार भ्रमणकारी टोली पाकिस्तानले शुरुवातबाट नेपाली टोलीलाई दबाब दिएर खेलेको थियो । तर केही समयपछि पाकिस्तानको सो लयले निरन्तरता पाउन सकेन । खेलको शुरुवातमै विमल घर्ती मगरले सुवर्ण अवसर पाए पनि उनले प्रहार गर्न ढिला गर्दा नेपालको अवसर खेर गएको थियो ।

११ औं मिनेटमा काउन्टर अट्याकमा पाकिस्तानले अवसर पाएपनि एलामगिर घाँजीको पासलाई वाहिद खानले भेट्न नसक्दा गोलरक्षक दीप कार्कीले नियन्त्रणमा लिएका थिए । त्यसपछि पाकिस्तानले काउन्टर अट्याकमा केही प्रयास गरेपनि नेपालको रक्षापंत्ति तोड्न सकेन ।

दुवै टोलीले त्यसपछि प्रयास गरेपनि पहिलो हाफ गोलरहित बराबरीमा सकियो । दोस्रो हाफमा फरक रणनीतिकासाथ मैदान उत्रिएको पाकिस्तानले केही आक्रमण बुनेपनि गोल भने गर्न सकेन । यस्तै नेपालका केही सुनौला अवसर अग्रपंक्तिले सदुपयोग गर्न चुकेको थियो ।

घरेलु टोली नेपालसँगको खेलसँगै पाकिस्तान अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको छ । नेपाली पुरुष फुटबल टोलीले दशरथ रंगशालामा खेलेको यो ५० औं अन्तर्राष्ट्रिय खेल हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्