खेलकूद

एक दिवसीय क्रिकेटको पहिलो खेलमा युएई विजयी, नेपाल ८४ रनले पराजित

हिमालय टिभी
२०७९ कार्तिक २८ गते १६:३२
एक दिवसीय क्रिकेटको पहिलो खेलमा युएई विजयी, नेपाल ८४ रनले पराजित

२८ कात्तिक २०७९ काठमाडौं । युएईसँग ३ खेलको एक दिवसीय सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज २ सय ६४ रनको विशाल लक्ष्य पछ्याएको नेपालले खराब ब्याटिङ गर्दै पुरै ओभरमा ९ विकेट गुमाएर १ सय ७९ रन मात्र बनायो । १३ ओभरमा महत्वपूर्ण ४ जना ब्याटर गुमाउँदा नेपालको खातामा मात्र ४१ रन थियो ।

सातौं ओभरको पहिलो बलमा ओपनर आशिफ शेख १२ रनमा आउट हुँदा त्यहि ओभरको तेस्रो बलमा ज्ञानेन्द्र मल्ल खाता नखोली पेभेलियन फर्किए । कप्तान रोहित पौडेल पनि १ र हरी शंकर शाह ८ रनमा आउट हुँदा दबाबमा परेको नेपालका लागि ओपनर अर्जुन साउद र दीपेन्द्र सिंह ऐरीले ६८ रनको साझेदारी गर्दै पाली सम्हाले । तर ३१ ओभरको पहिलो बलमा अर्जुन ५१ रनको अर्धशतकीय पाली खेलेर रोहन मुस्तफाको बलमा बोलड भए । दीपेन्द्रले ५४ रन बनाउँदा अन्य ब्याटर सस्तैमा आउट भए ।

यसअघि, टस गुमाएर पहिले ब्याटिङका लागि बोलाईएको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६३ रन बनायो । ओपनर मुहम्मद वासिम र वृत्य अरविन्दले ७५ रनको साझेदारी गर्दै युएईलाई शान्दार सुरुवात दिलाए । तर १५ औं ओभरमा तीव्र गतिका बलर गुल्शन झाले २ विकेट लिएपछि पाहुना टोली केहि दबाबमा पर्यो । ओभरको दोस्रो बलमा वासिमलाई ४४ रनमा बोल्ड गरेका उनले अन्तिम बलमा कप्तान सिपी रिजवानलाई कुशल भुर्तेबाट क्याच गराए ।

तेस्रो विकेटका लागि वृत्य र रोहन मुस्तफाले ५२ रनको साझेदारी गर्दै पाली उकासे । वुत्य ४० रन बनाएर आउट हुँदा रोहन मुस्तफाले ५३ रनको अर्धशतकीय पाली खेले । एक दिवसिय अन्तर्राष्ट्रियमा मुस्तफाको नेपालविरुद्ध यो दोस्रो तथा करियरको छैटौं अर्धशतक हो ।

युएईका लागि एलिशान शराफुले २९, एहमद राजाले नटआउट २७ र अयान अफ्जल खानले २६ रन जोडे । बलिङमा गुल्शनले ६ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । त्यस्तै, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए । जितसँगै युएईले ३ खेलको सिरिजमा १–० को अग्रता लिएको छ ।

नेपाल भ्रमणमा रहेको युएईले घरेलु टोलीसँग सिरिजको दोस्रो खेल बुधबार खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्