खेलकूद

नवौँ राष्ट्रिय खेलकुद : फुल कन्ट्याक्ट कराँतेमा चार स्वर्ण पदकसहित गण्डकी प्रदेश टिम च्याम्पियन

२०७९ असोज ३१ गते ७:५२
नवौँ राष्ट्रिय खेलकुद : फुल कन्ट्याक्ट कराँतेमा चार स्वर्ण पदकसहित गण्डकी प्रदेश टिम च्याम्पियन

३१ असोज २०७९ गण्डकी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत फुुल कन्ट्याक्ट कराँतेमा गण्डकी प्रदेशले चार स्वर्ण पदकसहित च्याम्पियन भएको छ ।

गण्डकीले नेपाल आर्मीलाई पछि पार्दै चार स्वर्ण पदकसहित टिम च्याम्पियन भएको प्रतियोगिताका सहसंयोजक दीपक गोदारले जानकारी दिनुभयो । महिला ४० केजीमुनि तौल समूहको प्रतिस्पर्धामा गण्डकी प्रदेशकी पुष्पा केसीले स्वर्ण पदक दिलाउनुभएको हो । उहाँले सुदूरपश्चिम प्रदेशकी गरिमा पार्कीलाई पराजित गर्दै टिम च्याम्पियन बनाउन महत्वपूर्ण योगदान गर्नुभएको हो ।

त्यस्तै अर्को खेलमा नेपाल आर्मी र गण्डकीले समान तीन÷तीन स्वर्ण पदक जितेका थिए । कराँतेमा पुुरुषका सात र महिलाका पाँच विधा गरी १२ विधामा भएको प्रतिस्पर्धामा गण्डकीले पुरुषफर्तको ३०–४०, ४५–५० तौल समूहमा स्वर्ण र महिलातर्फको ५०–५५ तौल समूहमा एक स्वर्ण जितेको हो । त्यसैगरी नेपाल आर्मीले खुला तौल समूह पुरुष, महिला र ६०–६५ केजी तौल पुरुषमा समूहमा स्वर्ण जितेको हो ।

खेलमा पुरुषतर्फको खुला तौल समूहमा नेपाल आर्मीका विजय सिंहले स्वर्ण जित्नुभएको हो । उहाँले गण्डकीका रुपक नेपालीलाई फाइलनमा पराजित गरी स्वर्ण हात पार्नुभएको हो ।

पुरुषतर्फकै ६०–६५ केजी तौल समूहमा पनि नेपाल आर्मीका सनी सिंहले स्वर्ण जित्नुभएको छ । उहाँले गण्डकीका शिव भुजेललाई पराजित गरी स्वर्ण जित्नुभएको हो । भुजेलले रजत पदक जित्नुभएको हो । पुरुषतर्फकै ५५–६० केजी तौल समूहमा नेपाल प्रहरीका सुशन लामिछानेले स्वर्ण र नेपाल आर्मीका विकास गुरुङले रजत पदक जित्नुभएको हो ।

पुरुषतर्फकै ५०–५५ केजी तौल समूहमा मधेस प्रदेशका धरमिन्दर रामले स्वर्ण प्राप्त गर्नुभयो भने नेपाल आर्मीका चोकबहादुर बुढाथोकीले रजत प्राप्त गर्नुभयो ।

यसैगरी ४५–५० केजी तौल समूहमा गण्डकीका अनिष बुढामगरले बागमतीका विजय राइलाई पराजित गरी स्वर्ण हात पार्नुभयो । ४०–४५ केजी तौल समूहमा सशस्त्र प्रहरीका सुनिल तामाङले स्वर्ण जितेका छन् भने आर्मीका राजकुमार यादवले रजत हात पार्नुभयो । पुरुषतर्फको ३५–४० तौल समूहमा गण्डकीका अभिषेक डिमडुङले नेपाल आर्मीका सागर थिङलाई फाइनलमा पराजित गरी स्वर्ण जित्नुभयो । थिङले रजत पदक पाउनुभयो ।

महिलातर्फको खुला तौल समूहमा नेपाल आर्मीका मञ्जु विकले स्वर्ण पदक जितेकी छन् । उनले बागमती प्रदेशकी निशा बोहोरालाई पराजित गरी स्वर्ण जित्नुभयो भने बोहोराले रजत पदक पाइन् । ५०–५५ केजी तौल समूहमा गण्डकीकी धनी रानामगरले नेपाल आर्मीका पत्रिका चन्दलाई पराजित गरी स्वर्ण जित्न सफल हुनुभयो भने चन्दले रजत पदकमा चित्त बुझाउनुप¥यो ।

४५–५० केजी तौल समूहमा वागमती प्रदेशकी नवीना धमालले सशस्त्र प्रहरीकी करिष्मा कार्कीलाई पराजित गरी स्वर्ण जित्दा कार्कीले रजत पदक जित्नुभयो । ४० देखि ४५ केजी तौल समूहमा सशस्त्र प्रहरीकी रिना माझीले नेपाल प्रहरीकी अञ्जना ढुंगेललाई पराजित गरी स्वर्ण जित्नुभयो भने ढुंगेलले रजत पदक हात पार्नुभयो ।

पोखराको प्रदर्शनी केन्द्रमा भएको प्रतिस्पर्धा खेलमा सातवटै प्रदेश, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी र एनआएनए गरी ११ टिम सहभागी भएका थिए । अन्तर्राष्ट्रियस्तरको रिङ निर्माण गरी अन्तर्राष्ट्रिय नियमअनुसार प्रतिस्पर्धा गराइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्