खेलकूद

नवौं राष्ट्रिय खेलकुद: फितलो तयारी, भव्य उद्घाटन (भिडियो रिपोर्टसहित)

२०७९ असोज २८ गते २१:१६
नवौं राष्ट्रिय खेलकुद: फितलो तयारी, भव्य उद्घाटन (भिडियो रिपोर्टसहित)

२८ असोज २०७९ कास्की । गण्डकी प्रदेशमा आज नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उदघाटन भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले पोखरा रंगशालामा आज भव्य समारोहबीच प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । १ हप्तासम्म चल्ने प्रतियोगिताका विभिन्न खेलहरु गण्डकी प्रदेशका ८ जिल्लामा हुनेछ ।

घरेलु खेलकुदको कुम्भमेला राष्ट्रिय खेलकुद प्रतियोगिताको नवौं संस्करण शुक्रबार पोखरा रंगशालामा भव्य समारोहकाबीच औपचारिक उद्घाटन गरिएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतियोगिताको औपचारिक शुभारम्भ गर्नुभयो । प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने तय भएको थियो । तर भण्डारी अस्वस्थ भएकाले उपराष्ट्रपति पुनले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा ७ प्रदेश ३ विभाग र एनआरएनएसहित ११ टोली सहभागी छन् । प्रतियोगिताको उद्घाटन कार्यक्रममा ११ वटै टोलीका ६ हजारभन्दा बढी खेलाडी मार्चपासमा सहभागी भए ।

करिब २ घण्टा चलेको उद्घाटन कार्यक्रममा नेपाली सेना, प्रहरी, एपीएफ र विभिन्न विद्यालयका विद्यार्थी तथा कलाकार सांस्कृतिक झाँकीमा सहभागी भए । एक हजारभन्दा बढि कलाकारले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे । ओलम्पियन टीकाबहादुर बोगटीले ओलम्पिक फ्लेम प्रज्वलन गर्नुभयो ।

औपचारिक रुपमा शुक्रबार उद्घाटन भए पनि यसअघिनै ९ खेल सञ्चालन भइसकेका छन् । निकै अस्तव्यस्त र भद्रगोल व्यवस्थापनकाबीच खेलहरु संचालन गरिएको भन्दै आयोजक राष्ट्रिय खेलकुद परिषद्को आलोचना भइरहेको छ ।

तात्कालिन सदस्य सचिव शरदचन्द्र शाहले २०३८ सालमा काठमाडौंमा प्रतियोगिता शुरु गर्नुभएको हो । प्रत्येक २ वर्षमा आयोजना हुनु पर्ने बृहत राष्ट्रिय खेलकुद ४० वर्षमा ८ वटा मात्र भएका छन् । २०७५ सालमा नेपालगञ्ज रंगशालामा आठौं राष्ट्रिय खेलकुद समापनकै समय नवौं संस्करण पोखरामा गर्ने घोषणा भएको थियो । गत वर्षनै पोखरामा हुनु पर्ने प्रतियोगिता कोरोना महामारी र अपर्याप्त तयारीका कारण पटक पटक सर्दै यस पटक सम्भव भएको हो ।

यसअघि पोखरामा दोस्रो संस्करण २०४० सालमा भएको थियो । त्यसको चार दशकपछि नवौं राष्ट्रिय खेलकुद पोखरामा फर्किँदा धेरै भिन्नता आए पनि आयोजकको शैली भने परम्परागत ढर्राबाट माथि उठ्न सकेको देखिएन । देश संघीय संरचनामा गइसके पनि खेलकुदमा अझै संघ नै हावी हुँदा सहभागी खेलाडी र खेल संचालनका लागि थुप्रै समस्या भएका छन् ।

राखेप सदस्य सचिव टंकलाल घिसिङले ७ हजारभन्दा बढि खेलाडी सहभागी हुने बताए पनि सहभागी टोलीले पूर्ण रुपमा खेलाडी ल्याउन नसक्दा ६ हजार १ सय ५७ खेलाडीमात्र प्रतिस्पर्धामा छन् । ३६ खेल समावेश प्रतियोगितामा ३९३ स्वर्ण, ३९३ रजत र ६०० काश्य पदकका लागि प्रतिस्पर्धा हुँदैछ । राखेपले यो संस्करणमा पहिलो पटक पदक तालिकाको शीर्षस्थानमा आउने टोलीलाई टिम च्याम्पियनका रुपमा रनिङ ट्रफी प्रदान गर्दैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्