हप्तौ पर्खँदा पनि टिकट नपाएपछि दशैं मनाउन घर जान लागेका यात्रु अलपत्र (भिडियो रिपोर्टसहित)

२०७९ असोज १४ गते २१:२४
हप्तौ पर्खँदा पनि टिकट नपाएपछि दशैं मनाउन घर जान लागेका यात्रु अलपत्र (भिडियो रिपोर्टसहित)

१४ असोज २०७९ बाँके । निजी विमान कम्पनीले उडान कटौती गर्दा कर्णाली प्रदेशको डोल्पा, हुम्ला र मुगुका यात्रु नेपालगन्जमा अलपत्र परेका छन् । हप्तौ पर्खदा पनि टिकट नपाएपछि दशैं मनाउन घर फर्कन लागेका सयौं यात्रु अलपत्र परेका हुन् ।

तारा एयरले दशैंका बेला नेपालगञ्जबाट कर्णाली प्रदेशका डोल्पा, हुम्ला, मुगु र जुम्लाको उडान कटौती गर्‍यो । विदेशी पर्यटकलाई लक्षित गरी पोखरा जोमसोम क्षेत्रमा उडान भर्न सुरु गरेपछि कर्णाली प्रदेशका यात्रुले हप्तौ पर्खदा पनि विमानको टिकट पाउन सकेका छैनन् ।

दैनिक १२ वटा उडान भर्दै आएको तारा एयरले दशैंको मुखमा उडान कटौती गरी हप्तामा ४ वटा मात्रै उडान गर्न थाले पछि दशैं मनाउनका लागि नेपालगञ्जबाट घर फर्कदै गरेका यात्रु समस्यामा परेका छन् । नेपालगञ्जबाट हुने उडानमा पनि पहुँचवालाकै हालीमुहाली हुने गरेको यात्रुको गुनासो छ । डोल्पा, हुम्ला र मुगु जानका लागि हवाई टिकटको प्रतीक्षामा नेपालगञ्जमा अहिले करिव तीन सय यात्रु छन् । अधिकांश यात्रु होटलमा बसेका छन् ।

नेपालगञ्जमै ३ वटा विमान राखेर कर्णाली प्रदेशमा उडान भर्दै आएको तारा एयरको पछिल्ला २ सातादेखि नेपालगञ्जमा एउटा पनि विमान छैन । पोखराबाट नेपालगञ्ज आएर तारा एयरले हप्तामा ४ वटा मात्रै उडान गर्दै आएको छ ।

नेपाल वायु सेवा निगमले पनि हप्तामा एक दिन मात्रै कर्णाली प्रदेशमा उडान भर्दै आएको छ । सीता एयरका विमान बिग्रिएका कारण एक महिनादेखि नेपालगञ्जबाट कर्णाली क्षेत्रमा कुनै उडान भएको छैन । समिट एयरले भने नेपालगञ्जबाट कर्णाली प्रदेशका जिल्लामा दैनिक ५ वटासम्म उडान भर्दै आएको छ । तारा र सिता एयरको उडान कटौती हुँदा त्यसको असर पनि समिट एयरलाई परेको छ ।

मुनाफा मात्रै हेर्ने विमान कम्पनी र कर्णाली प्रदेशका विपन्न नागरिकको आवाज नसुन्ने सरकारी निकायका कारण दशैंको मुखमा कर्णाली प्रदेशका यात्रुहरु बेखर्ची भएर बिचल्लीमा पर्ने स्थिति उत्पन्न भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *