खेलकूद

नवौं राष्ट्रिय खेलकुद : पूर्वाधारबिनै प्रतियोगिता (भिडियो रिपोर्टसहित)

२०७९ असोज ८ गते २१:०५
नवौं राष्ट्रिय खेलकुद : पूर्वाधारबिनै  प्रतियोगिता (भिडियो रिपोर्टसहित)

८ असोज २०७९ काठमाडौं । २०७६ सालमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनाको जिम्मेवारी गण्डकी प्रदेशले पायो । २०७८मा प्रतियोगिता हुनु पर्ने भए पनि कोरोनाका कारण सञ्चालन हुन सकेन । यो वर्ष भने प्रतियोगिता असोज २८ देखि कास्कीमा सुरु हुँदैछ । तर, खेल पूर्वाधार यो पटक पनि निर्माण हुन सकेन ।

गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदका प्रायः सबै प्रतिस्पर्धा कास्की जिल्लामै केन्द्रित हुने भएको छ । प्रदेश केन्द्रित भने पनि अन्य जिल्लामा पूर्वाधार नहुँदा ३६ नियमित र २ प्रदर्शनी गरी ३८ खेल मध्ये अधिकांश खेल कास्कीमा हुनेछ । तीमध्ये शुटिङको संरचना प्रदेशमै नभएका कारण काठमाडौंमै हुनेछ ।

हकी र रग्वीका लागि पनि आवश्यक संरचना छैन । सुटिङका लागि दुई आर्थिक वर्षमा लगातार बजेट विनियोजन भयो । तर पर्याप्त नभएको र थप बजेटका लागि स्रोत सुनिश्चित नहुँदा टेण्डर आह्वान हुन सकेन ।

भण्डार डिकको खुल्ला मैदानमा रग्वी र हेम्जामा हक्की खेलाइँदै छ । जहाँ न्युनतम पूर्वाधार समेत छैन । पोखरा रंगशालाभित्र पौडी पोखरी बनाउने चर्चा चलेको एक दशक पुग्यो । तर, बजेट भए पनि काम भएन । अहिले निजी पौडी पोखरी भाडामा लिएर प्रतियोगिता हुँदैछ ।

क्रिकेटको पनि अवस्था नाजुक छ । प्रतियोगितालाई भनेर तीन स्थानमा खेल मैदान बनाउन प्रस्ताव गरिए पनि सरकारले त्यस तर्फ ध्यान दिएन । उल्टै पुरुष क्रिकेट प्रतियोगिता काठमाडौंमा आयोजना भयो । पोखरा रंगशालामा रहेको क्रिकेट मैदानमा महिला क्रिकेट खेलाउने भनिएको छ । तर, सचिवालय, शौचालयलगायतका केही पनि संरचना बनेका छैनन् ।

खेलकुदले विकास पनि भित्र्याउँछ भन्ने सोचलाई राष्ट्रिय खेलकुद परिषदले महत्व नदिएको प्रष्ट छ । प्रतियोगितालाई औपचारिकतामा सीमित गरिदिँदा यसप्रतिको आकर्षण घट्दो छ । संघीय सरकारको कार्यक्रममा न संघ न त प्रदेशले नै बजेट विनियोजन गर्यो ।

अन्तर्राष्ट्रिय मापदण्डको खेल पूर्वाधार त टाढाको कुरा सामान्य खेल स्थल समेत नहुँदा खेलाडीले प्रयाप्त तालिम र अभ्यास समेत गर्न पाएका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्