आर्थिक

विलासी वस्तु आयातमा प्रतिबन्ध : अर्थतन्त्र सुध्रियो कि तस्करी मौलायो ? (भिडियो रिपोर्टसहित)

२०७९ भदौ ११ गते १८:२५
विलासी वस्तु आयातमा प्रतिबन्ध : अर्थतन्त्र सुध्रियो कि तस्करी मौलायो ? (भिडियो रिपोर्टसहित)

११ भदौ २०७९ काठमाडौं । सरकारले भदौ १४ गतेसम्मका लागि विलासी वस्तु आयातमा गरेको प्रतिबन्धको समय बढाउने तयारी गरेको छ। यो निर्णयले संकटतर्फ धकेलिएको अर्थतन्त्र सुधारमा सघाउ पुर्‍याएको नेपाल राष्ट्र बैंकको निश्कर्ष छ । तर व्यवसायीहरुले भने प्रतिबन्धले गर्दा तस्करी मौलाएको र चाडपर्वसमेत नजिकिएको भन्दै तत्काल फुकुवा गर्न सरकारलाई दबाव दिँदै आएका छन्।

विदेशी मुद्राको सञ्चिति घटेर मुलुक संकटतर्फ धकेलिएपछि सरकारले गत वैशाख १३ मा असार मासन्तसम्मका लागि मोवाइल, हिरा, मदिरा, जिप, कार, भ्यान लगायतका १० वस्तुको आयातमा प्रतिबन्ध लगायो ।

उक्त प्रतिबन्धले विदेशी मुद्राको सञ्चिति सुधारमा सहयोग पुर्‍याएको भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भदौ १४ गतेसम्मका लागि प्रतिबन्ध थप गर्‍यो । मन्त्रालयले प्रतिबन्धलाई अझै केही दिन निरन्तरता दिने तयारी गरेको छ । नेपाल राष्ट्र बैंकले पनि यो निर्णयले अर्थतन्त्रमा सुधार हुँदै गएकाले यसलाई केही समय कायमै राख्नुपर्ने सुझाव दिएको छ।

नेपाल राष्ट्र बैंकको प्रतिवेदन अनुसार वस्तु आयात प्रतिबन्धपछिको दुई महिनामा विदेशी मुद्राको सञ्चितिमा उल्लेख्य सुधार भएको छ । गएको वैशाखमा ११ खर्ब ४६ अर्ब रुपैयाँ सञ्चिति रहेकोमा असार मसान्तसम्म यस्तो रकम बढेर १२ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ । सञ्चिति बढ्दै गएकाले पनि यसलाई लम्ब्याउनुको विकल्प नभएको राष्ट्र बैंकको सुझाव छ ।

तर व्यवसायीहरुले प्रधानमन्त्री कार्यालय, अर्थ र राष्ट्र बैंकसँग पटक पटक प्रतिबन्ध फुकुवा गर्न माग गर्दै आएका छन् । चाडपर्व नजिकिँदै गएकाले सरकारले प्रतिबन्धलाई निरन्तरता दिन नहुने व्यवसायीहरुको तर्क छ । सरकारको निर्णयले तस्करी मौलाएको भन्दै तेस्रो पटक प्रतिबन्धको समय लम्ब्याउन नहुने व्यवसायीको तर्क छ ।

चालू आर्थिक वर्षको पहिलो महिना साउनमा मात्र १ खर्ब ३१ अर्ब २८ करोड रुपैयाँ भन्दा बढीको वस्तु तथा सेवा आयात भएको छ । प्रतिबन्ध फुकुवा गर्ने हो भने आगामी दिनमा आयात थप बढ्ने र विदेशी मुद्रा सञ्चितिमा थप चाप पर्ने निश्चित छ । यसर्थ, मुलुकको बाह्य क्षेत्र स्थायित्वका लागि पनि सरकार र राष्ट्र बैंकका अवलम्बन गरेका नीतिगत प्रयासलाई केही समय निरन्तरा दिनुको विकल्प देखिँदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *