फोहरबाटै करोड कमाउँदै तिलोत्तमा नगरपालिका (भिडियो रिपोर्टसहित)

२०७९ भदौ ७ गते १६:३१
फोहरबाटै करोड कमाउँदै तिलोत्तमा नगरपालिका (भिडियो रिपोर्टसहित)

७ भदौ २०७९ बुटवल । काठमाडौँ महानगरपालिकामा फोहर सधैँको चुनौती बन्ने गरेको छ । फोहरलाई लिएर धरान उपमहानगरपालिकाका प्रमुख र काठमाडौंका प्रमुखबीच जुहारी नै चलिरहेको छ । तर, रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई फोहर व्यवस्थापनमा कुनै समस्या छैन ।

‘ग्रिन तिलोत्तमा, क्लिन तिलोत्तमा’ अभियान नै चलाएर नगरपालिकाले फोहरलाई मोहरमा बदलेर वार्षिक करोडको आम्दानी गरिरहेको छ ।

उहाँ मोहनप्रसाद भण्डारी । हरेक दिन आफ्नो पसलबाट निस्किएको फोहरलाई यसरी कुहिने र नकुहिने भाँडोमा फाल्नुहुन्छ । कुहिने फोहर मल बनाउन प्रयोग गरिन्छ भने नकुहिने फोहर लिन तिलोत्तमा नगरपालिकाको गाडी आउँछ । यो क्रम निरन्तर रहेकाले नगरवासीलाई फोहरले दुर्गन्ध फैलने र फोहर व्यवस्थापनमा समस्या छैन ।

नगरपालिकाले फोहर व्यवस्थापनका लागि दुईवटा निजी संस्थासँग साझेदारी गरेको छ । जस अन्तर्गत एउटाले फोहर संकलन गर्दा अर्कोले व्यवस्थापनको काम गरिरहेको छ । वडा नम्बर १ देखि ६ सम्म संकलन भएको फोहरलाई ‘वातावरण सुन्दर नेपाली’प्रालिले सुखौरा वन क्षेत्रमा करिब ६ बिघा क्षेत्रफलमा निर्माणाधीन फोहर संकलन केन्द्रमा लैजान्छ ।

अहिले ठूलो आकारको फोहरलाई खुम्च्याएर सानो बनाई विक्री गर्ने, प्लास्टिकजन्य फोहर छुट्टै बेच्ने, कम्पोस्ट मल बनाउनेलगायत काम एकै ठाउँबाट हुने गरी मेसिन जडान भइरहेको छ । करैया सामुदायिक वन क्षेत्रमा रहेको सुखौरा खोला उकास क्षेत्रमा जनसहभागिता वास स्वास्थ्य सहकारी संस्थाले नगरका ७ देखि १७ वडाको फोहर संकलन गरी त्यसबाट आम्दानीसहित रोजगारी दिइरहेको छ । सहकारी अन्तर्गत ४० जना कर्मचारीले संकलन गरेको फोहर बिक्री भइरहेको छ ।

फोहरमैलाको उचित व्यवस्थापन नहुँदा कयौं सहर दुर्गन्धित भएका छन् । सहरी क्षेत्रमा फोहरमैला व्यवस्थापन चुनौती बने पनि नगरपालिकाले सहकारी र निजी संस्थाको साझेदारीमा प्लाष्टिकजन्य फोहर व्यवस्थापनमा समस्या नभएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले फोहर व्यवस्थापनमा समस्या नभएको दाबी गरिरहे पनि विक्री नहुने फोहर नगरपालिकाका लागि चुनौती बनिरहेको छ । त्यसका लागि संयुक्त राष्ट्रसंघ (यूएनडीपी) र नगरपालिकाको संयुक्त समन्वयमा पीजीआरपी (प्रोमोटरी ग्रिन रिकभरी प्रोजेक्ट) चलाउने तयारी अघि बढाइएको छ ।

कार्यक्रम पूर्ण रुपमा सञ्चालन भैसक्दा थप २ सय ५० जनाले रोजगारी पाउनेछन् भने कम्पोस्ट मल विक्री पछि थप आम्दानी हुने अपेक्षा छ  । यो डम्पिङ साइट निर्माणमा वासको ५७ लाख, नगरपालिकाको १ करोड ४३ लाख र यूएनडीपीको १ करोड ४९ लाख रुपैयाँ लगानी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *