खेलकूद

राजीनामा नदिने मुडमा अलमुताइरी, समस्यामा एन्फा (भिडियो रिपोर्टसहित)

२०७९ भदौ ३ गते २०:४६
राजीनामा नदिने मुडमा अलमुताइरी, समस्यामा एन्फा (भिडियो रिपोर्टसहित)

३ भदौ २०७९ काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीका विषयमा अझैसम्म पनि निर्णय गर्न सकेको छैन ।

एकतिर अलुमताइरीले आफैले टोली छोडोस् भन्ने आशयले एन्फा अघि बढेको देखिन्छ भने अलुमताइरी सहजै राजीनामा दिने मुडमा छैनन् । यो प्रकरणले एन्फा मात्र होइन नेपाली फुटबल नै सकसमा पर्न थालेको छ ।

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र खेलाडीबीचको विवाद समाधानका लागि गठित छानबिन समितिले निकालेको निष्कर्ष र सुझावका आधारमा एन्फाले अलमुताइरीसँग जवाफ माग्यो । तर अलुमताइरीले पठाएको जवाफ चित्त बुझ्दो नभएको भन्दै एन्फा अहिले आन्तरिक छलफलमा छ ।

मुख्य प्रशिक्षकले पठाएको पत्र एन्फाले सार्वजनिक नगरे पनि उनले छानबिन समितिमाथि नै प्रश्न उठाएको बुझिएको छ । यस विषयमा थप छलफल गरी पत्र सार्वजनिक गर्ने एन्फाको तयारी छ ।

एन्फा कुनै पनि हालतमा अलमुताइरीलाई कारबाही गरी उनको विकल्प खोज्ने योजनामा छ । तर यसका लागि एन्फा एक्लैले चाहेर मात्र हुँदैन । किनकी यसअघि दोस्रो पटक उनलाई नियुक्त गर्दा एन्फा, मुख्य प्रशिक्षक अलमुताइरी र कतार फुटबल संघबीच त्रिपक्षीय सहमति भएको थियो ।

त्यसैले अब उनलाई बर्खास्त गर्न पनि त्रिपक्षीय सहमति हुनु आवश्यक छ । यही सम्झौता नै अहिले एन्फालाई टाउको दुखाई बनिरहेको छ । यो सम्झौता खारेज गरी उनको विकल्पमा खोज्ने विषयमा एन्फाले कतारी दूतावास र कतार फुटबल संघमा पनि कोशिस जारी राखे पनि यसमा ठोस प्रगति भएको छैन ।

निरन्तरता दिन नचाहेको सन्देश दिन एन्फाले अलमुताइरीलाई बिच्काउँदै आफै राजीनामा गरुन् भन्ने चाहन्छ । एन्फाले पछिल्लो पटक गरेको निर्णय र नियुक्तिबाट पनि यो कुरा पुष्टि हुन्छ । किनकी उनीसँगको विवादपछि टोली बाहिर परेका १० सिनियर खेलाडीलाई एन्फाले टोलीमा बोलाउने निर्णय गर्नु अलमुताईरीको योजना विपरित थियो ।

त्यस्तै, पछिल्लो पटक उनले बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि २६ जना खेलाडीलाई प्रशिक्षणमा बोलाउन एन्फालाई सूची पठाएका थिए । जसमा उनीसँगको विवादपछि प्रशिक्षणबाट बाहिरिएका अन्जन विष्ट र तेज तामाङलाई मात्र उनले सूचीमा सामेल गराए ।

त्यस्तै कोचिङ स्टाफसमेत तोकेर एन्फालाई तयारीमा रहन अलमुताइरीले पत्र पठाएका थिए । तर एन्फाले यो सूची पनि लत्याउँदै उनको स्थानमा कार्यवाहक प्रशिक्षक नै नियुक्त गर्‍यो । कार्यवहाक प्रशिक्षकले पनि आफ्नै योजना अनुसार कोचिङ स्टाफ र खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाए । जसमा विवादमा परेका १० जनामध्ये ९ जना खेलाडीलाई नै प्रशिक्षणमा फर्काएका छन् । यस्तोमा मुख्य प्रशिक्षक र उनीसँगको विवादमा परेका खेलाडी एउटै टोलीमा रहने सम्भावना न्युन छ ।

पछिल्ला धारणा र वक्तव्यका आधारमा अलमुताइरी नेपाल फर्कन सकारात्मक रहेको देखिन्छ । सामाजिक सञ्जालमा उनको पोष्टमा धेरै नेपाली फुटबल प्रेमीले उनलाई समर्थन गरिरहेका छन् । यो कुराले एन्फालाई समस्या सल्टाउने भन्दा पनि जटिल अवस्थामा पारिरहेको छ ।

प्रक्रियागत रुपमा बलियो स्थितिमा रहेका अलमुताइरी एन्फालाई सहजै समाधान दिने पक्षमा छैनन् । एन्फाले आफुविरुद्ध जस्तो कदम चालेको छ उनी पनि एन्फालाई त्यस्तै प्रतिउत्तर दिइरहेका छन् । यसका लागि फिफा र एएफसीसम्म पनि जान सक्ने उनले बताइसकेका छन् । त्यसैले एन्फा र अलमुताइरीबीचको शक्तिको लडाईले विवाद समाधानभन्दा जटिलता थपिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्