राष्ट्रपतिलाई विवादमा तान्ने प्रयास भएको भन्दै एमालेको असन्तुष्टि (भिडियो रिपोर्टसहित)

३१ साउन २०७९ काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्रपति विद्यादेवी भण्डारीलाई विवादमा तान्ने प्रयास भएको भन्दै असन्तुष्टि जनाएको छ ।
नागरिकता विधेयक पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएपछि राष्ट्रपतिको भूमिकालाई लिएर भइरहेको टिकाटिप्पणीलाई एमालेले विवादमा तान्ने प्रयासका रुपमा व्याख्या गरेको हो ।
प्रतिनिधिसभामा विशेष समय लिएर एमालेका प्रमुख सचेतक विशाल भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक अधिकार प्रयोग गरेका कारण अनावश्यक रुपमा विवादमा मुछ्ने प्रयास गर्नु गलत भएको बताउनुभयो ।
राष्ट्रपतिले नागरिकता अध्यादेश तुरुन्तै जारी गरेको तर नागरिकता विधेयक फिर्ता पठाएको भनी उठाइएको प्रश्नको संवैधानिक आधार नभएको भट्टराईले स्पष्ट गर्नुभयो ।
एमालेकै सचेतक शान्ता चौधरीले नागरिकता विधेयक फिर्ता भएपछि सत्ता गठबन्धनलाई गल्ती सुधार्ने मौका मिलेको बताउनुभयो । उहाँले यो विधेयक अब दफावार छलफलका लागि संसदीय समितिमा पठाइनुपर्छ भन्ने पनि सचेतक चौधरीको माग रहेको छ ।
एमालेकै सांसद विना श्रेष्ठले पनि वैवाहिक अंगीकृतमा समयसीमा राखिनुपर्नेमा जोड दिनुभयो ।
विगतमा सत्ता गठबन्धनले बहुमतको बलमा वैवाहिक अंगीकृत नागरिकता बिहे गरेर आएलगत्तै पाउने व्यवस्थालाई निरन्तरता दिन खोजेकोमा राष्ट्रपतिले फिर्ता पठाएपछि सुधार गर्ने अवसर मिलेको उल्लेख गर्दै उहाँले समयसीमा राखेरै जानुपर्ने बताउनुभयो ।
प्रतिक्रिया