खेलकूद

आन्तरिक राजनीतिले गाँजेकाे एन्फा, मारमा खेलाडी(भिडियो रिपोर्टसहित)

२०७९ साउन २५ गते २०:२१
आन्तरिक राजनीतिले गाँजेकाे एन्फा, मारमा खेलाडी(भिडियो रिपोर्टसहित)

२५ साउन २०७९ काठमाडौं । नेपाली फुटबलको अभिभावकीय निकाय अखिल नेपाल फुटबल संघका पदाधिकारी आन्तरिक राजनीतिमा व्यस्त रहँदा त्यसको मार खेलाडीमा पर्न थालेको छ । घरेलु फुटबल प्रतियोगिता अनिश्चित बन्दा पछिल्लो समय राष्ट्रिय टोलीका थुप्रै खेलाडी विदेशिने क्रम बढेको छ ।

घरेलु खेलकुदमा अन्य खेलको तुलनामा फुटबललाई व्यवसायिक मानिन्छ । फुटबल खेलाडीले राम्रो आर्जन समेत गरिरहेका छन् । तर केही महिना खेलेर वर्ष दिन गुजारा गर्नुपर्ने बाध्यताले खेलाडी विदेश भासिने क्रम पछिल्लो समय बढ्दो छ । देशभित्रै फुटबल गतिविधि हुने आशामा रहेका दर्जन बढी अरु खेलाडी पनि जीविकोपार्जनकै लागि भारतमा स्थानिय र तल्लो स्तरका प्रतियोगिता खेल्न बाध्य छन् ।

पटके खेलका रुपमा एक खेलको निश्चित पारिश्रमिक लिएर खेलाडीहरु भारतका विभिन्न राज्यमा स्थानीय प्रतियोगिता खेलिरहेका छन् । ती प्रतियोगितामा अन्जन विष्ट, रञ्‍जित धिमाल, अनन्त तामाङ, छिरिङ गुरुङ, आदित्य चौधरी, अभिषेक रिजाल, पुजन उपरकोटी, संजोक राई र विशाल राई जस्ता राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य समेत खेलिरहेका छन् ।

स्तरहीन मैदानमा खेलाईने ती प्रतियोगितामा खेलाडी घाईते भएमा त्यसको जिम्मेवारीसमेत खेलाडी स्वयमले लिनु पर्ने अवस्था छ । यसको मुख्य कारण नै मुख्य प्रशिक्षकको व्यवहार रहेको भन्दै भारतबाट डिफेन्डर रन्जित धिमालले सामाजिक संजाल मार्फत् आक्रोश नै पोखे । खेलाडीलाई व्यस्त बनाउने कार्यक्रम एन्फाले ल्याउन नसक्नुको परिणामस्वरुप यस्तो अवस्था आइलागेको सुजलको बुझाई छ ।

राष्ट्रिय टोलीका खेलाडीको यो अवस्थाले व्यवसायीकरणको लक्ष्य बोकेको एन्फा नेतृत्वको कार्यशैलीमै प्रश्न खडा गरेको छ । यस्ता विषयमा गम्भीर बन्नु पर्ने निकाय एन्फा भने खेलाडीको यो हविगतलाई सामान्य प्रक्रिया भन्ने गरेको छ ।

कुनै पनि खेलाडीले राष्ट्रिय टोलीसम्म स्थान बनाउन वर्षौको समय र पैसाको लगानी गरेका हुन्छन् । खेलाडीमाथि राज्यकोसमेत करोडौंको लगानी हुन्छ । तर बिडम्बनापूर्ण अवस्थाले राष्ट्रिय फुटबलमा चुनौती थपेको छ ।

छिमेकी राष्ट्र भारतले उमेर समूहदेखि नै खेलाडीलाई प्रशिक्षण र म्याच एक्सपोजरमा काम गर्दै भविष्यको टोली निर्माणमा जुटिरहेको छ । यसैको पछिल्लो उदाहरण हालै सम्पन्न २० वर्ष मुनिको साफ च्याम्पियनसिपको नतिजा पनि मान्न सकिन्छ ।

अन्य मुलुकले शनशनीपूर्ण नतिजा निकालिरहँदा नेपाली दर्शक भने पाएका सिमित उपलब्धिमै खुसी मनाउन बाध्य छन् । तर जित्दा बधाई दिन तछाडमछाड गर्ने एन्फा पदाधिकारी हारको कारण केलाउँदै कमी कजोरी सच्याउँने भन्दा पनि आन्तरिक राजनीतिमै व्यस्त हुनु नेपाली फुटबलको भविष्यमाथिकै खेलबाड हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्