आईसीसी विश्वकप क्रिकेट लिग टुमा आज नेपाल र नामिबिया भिड्दै

३२ असार २०७९ काठमाडौं । स्कटल्याण्डमा जारी आईसीसी विश्वकप क्रिकेट लिग टु मा आज नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ ।
विश्वकप क्रिकेट लिग टु त्रिकोणात्मक शृंखला अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले नामिबियासँग खेल्न लागेको हो । शृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो ।
त्यसैले नेपाल आज त्यसको बदला लिने लक्ष्यमा रहनेछ । दोस्रो खेलमा भने नेपालले घरेलु टोली स्कटल्याण्डलाई ५ विकेटले पराजित गरेको थियो । स्कटल्याण्डको क्यामबुस्डोन क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे शुरू हुनेछ ।
लिग टु मा नेपाल र नामिबिया दोस्रो पटक खेल्न लागेपनि दुबै टोली एक दिवसीयमा ६ पटक आमने सामने भएका छन् । जसमा नेपालले ४ खेल जित्दा नामिबियाले पछिल्लोसहित २ खेल जितेको छ ।
शृंखलामा १८ खेल खेल्दै ८ जित र ९ हारका साथ १७ अंक जोड्दै नेपाल अंक तालिकाको पाँचौं स्थानमा छ । एक खेल कम खेलेको नामिबिया १६ अंकसहित छैटौं स्थानमा छ ।
प्रतिक्रिया