खेलकूद

छोरीले तीन स्वर्ण जितेपछि खुसी आमा

२०७९ असार २२ गते १४:०९
छोरीले तीन स्वर्ण जितेपछि खुसी आमा

२२ असार २०७९ गलेश्वर । मनकुमारी परियार–नाम जस्तै मनकारी । राखुमा जन्मिनुभएकी मनकुमारीले मन र जीवन भकिम्लीका टीका उर्फ पूर्णलाई दिनुभयो । उहाँले सोच्नुभयो अब मेरो जीवन पनि पूर्ण हुने भयो । तर जीवनमा सबै भने जस्तो कहाँ हुन्छ र ?

जब पूर्णसँग मनकुमारी रङ्गीन सपना पूरा गर्न घर पुग्नुभयो त्यसपछि छाँगाबाट खसे झैँ हुनुभयो उहाँ । कारण, पूर्णको घरमा त पहिल्यै पत्नी र छोराछोरी थिए । दोधारमा पर्नुभयो मनकुमारी । जाउ कहाँ जाउ ? गुहार मागू कसलाई ? भएन भनेर कोखका सन्तान जन्मने प्रक्रियामा थियो । मनकुमारीले अठोट गर्नुभयो जस्तै दुःख सहेर भए पनि अब म यसैका निम्ति बाँच्नुपर्छ ।

त्यसपछि सुरु भयो उहाँकोे सङ्घर्षको कथा । के गुर्नभएन उहाँले ? संजोगले बेनी नगरपालिकामा बजारमा ट्र्याक्टर चढेर फोहर सङ्कलन गर्ने काम पाउनुभयो मनकुमारीले । घिन मान्नुभएन, अल्छी गर्नुभएन काममा । सबैलाई मीठो बोली र कामले लोभ्याउनुभयो । एकातिर काखमा बच्चा अर्कोतिर कामको चटारो हरेस नखाइकन निरन्तर काममा लाग्नुभयो छोरीको जन्म भयो । नाम राख्नुभयो सुष्मा परियार ।

हो, यिनै सुष्मा परियारले २०७९ असार २० र २१ गते सम्पन्न राष्ट्रपति कपमा तीन स्वर्ण र एक काश्यपदक जितेर सबैलाई चकित तुल्याउनुभएको छ । उमेरले १३ वर्ष लागेकी बेनीको प्रकाश माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्ने सुष्माले दौडतर्फ १०० मिटर, २०० मिटर र चारसय मिटर रिलेमा तीन स्वर्ण र एक हजार ६०० मिटर रिलेमा काश्यपदक जित्न सफल हुनुभएको हो । अब सुष्माले पोखरामा हुने प्रदेशस्तरीय राष्ट्रपति कपमा म्याग्दीको प्रतिनिधित्व गर्दै हुनुहुन्छ ।

सुष्मा त्यसै सफल हुनुभएको होइन । उहाँको सफलतामा आमा मन कुमारीको ठूलो हात छ । एकातिर बुबाको साथको अभाव अर्कोतिर आफ्नो आर्थिक अवस्था । “दशौँ वर्ष गरेको नगर पालिकाको जागिर पनि गयो । अहिले पाण्डे मेडिकल र सञ्जिवनी हस्पिटल साथमा केही घरमा काम गरर दैनिक गुजारा चलाइरहेकी छु । महिनाभरिको कमाइले के घर भाडा तिर्ने ? के हातमुख जोर्ने ?” गहभरि आँसु झार्दै मनकुमारीेले भन्नुभयो, “कति दिन त पैसा नभएर रित्तै हात स्कुल पठाएँ । कैयौँपटक कापी, कलम किन्ने पैसा भएन । यसले कहिल्यै गुनासो गरिन् । अचानक अमिसाले फोन गरेर सुष्माले जितिन्भन्दा भुइँमा खुट्टा रहेन । दौडेर मञ्चमा पुगे । छोरी र साथीहरुलाई बधाई दिएँ आज यसको सफलताले सबै दुःख बिर्सिएको छु । सर मिसलाई नै अभिभावक सम्झेर प्रकाश मावि पढाएको छु आशा छ स्कुलले यसलाई पक्कै मान्छे बनाउने छ”, मनकुमारीले भन्नुभयो ।

“गत वर्ष शारीरिक शिक्षाको अभ्यास गराउँदा आँखामा परेका थिइन् सुष्मा । राष्ट्रपति कप हुने भन्दाबित्तिकै उनको तस्बिर झलझली आँखा अगाडि नाँच्यो । नभन्दै साथी माझ अब्बल सावित भएर छनोट भइहालिन्”, प्रकाश माध्यमिक विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख विनय श्रेष्ठले भन्नुभयो । “सुष्माको प्रदर्शनले हामी खुसी छाँै, उनले विद्यालयको नाम राखेकी छन् । विद्यालयले गर्नुपर्ने सहयोगमा हामी कमी हुन दिने छैनौँ”, विद्यालयका निमित्त प्रधानाध्यापक लेखबहादुर हमालले बताउनुभयो ।

सुषमाले अहिलेको प्रदर्शनले खुसी भएको बताउनुभयो । “सरमिस, विद्यालय र साथीले साथ दिनुभयो, धन्यवाद छ । विद्यालयको नाम राखेँ अब जिल्लाको नाम राख्न सकूँ । यही सपना बोकेर पोखरा जानेछु । आमाको सपना पूरा गर्नेछु । मेरा पदक आमाबुबालाई समर्पण छ ।” खुसी व्यक्त गर्दै सुष्माले भन्नुभयो ।

अहिले सिङ्गो समाज सुष्माको अभिभावक बनेको छ । सुष्मालाई मान्छे बनाउन र बुवाको कमी महसुस हुन नदिन वास्तवमै सहयोगी हातको खाँचो भएको विद्यालयका शिक्षक विनय श्रेष्ठले बताउनुभयो ।

प्रदेशस्तरीय खेलमा म्याग्दीबाट ९३ खेलाडी छनोट
म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न सातौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालयस्तरीय खेलकुद प्रतियोगिताबाट गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कपका लागि म्याग्दीबाट विभिन्न विधामा गरी ९३ खेलाडी छनोट भएका छन् ।

मङ्गलबार सम्पन्न भएको प्रतियोगितामा पुरुष तथा महिला भलिबल, कबड्डी मार्सलआर्ट विधाका खेलाडी छनोट गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताउनुभयो । “जिल्लाबाट विभिन्न विधामा गरी ९३ जना खेलाडी छनोट भएका छन्, प्रदेशस्तरीय प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने प्रयास गर्छौं”, अध्यक्ष केसीले भन्नुभयो ।

अध्यक्ष केसीका अनुसार जिल्लाभर समग्रमा बेनी नगरपालिका प्रथम भएको छ । स्थानीय तहबाट सहभागी विद्यालयस्तरको स्वर्णसहितको पदक आज वितरण गरिएको छ । असार २३ र २४ गते प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी गराउने खेलाडी छनोट गर्न जिल्लास्तरीय प्रतियोगिताको आयोजना गरिएको थियो । छनोट भएका खेलाडीहरु प्रदेशस्तरीय प्रतियोगिताका लागि आजै पोखरा जाँदैछन् ।-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्