खेलकूद

खेलकुदमा बजेटको दुरुपयोग, खेलाडीले पाउँदैनन् क्षमताअनुसार प्रदर्शनको अवसर (भिडियो रिपोर्टसहित)

२०७९ असार २१ गते १४:५१
खेलकुदमा बजेटको दुरुपयोग, खेलाडीले पाउँदैनन् क्षमताअनुसार प्रदर्शनको अवसर (भिडियो रिपोर्टसहित)

२१ असार २०७९ काठमाडौं । आर्थिक वर्षको अन्त्यमा विकास निर्माणको काममा चटारो हुनु नेपालका लागि नौलो होइन् । विकास निर्माण मात्र होइन, खेल क्षेत्र पनि यो समस्याबाट अछुतो छैन् । आर्थिक वर्षको अन्त्यमा मात्रै प्रतियोगिता हुँदा यसले खेलकुद बजेटको दुरुपयोग त भएकै छ खेलाडीले पनि क्षमता अनुसार प्रदर्शन गर्न सकेका छैनन् ।

वर्षायामको सुरुवात र आर्थिक वर्षको अन्त्यमा आएर धमाधम खेलकुद प्रतियोगिता आयोजना हुँदैछ । प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि गत बिहीबार र शुक्रबार दुई दिन बागलुङमा छनोट प्रतियोगिता सम्पन्न भयो । तर लगातारको वर्षाका कारण बाङ्गेचौर खेल मैदान हिलाम्य हुँदा बागलुङ–पोखरा राजमार्गमा चल्ने सवारी साधनलाई रोक्दै कालोपत्रे सडकमै कतिपय खेल खेलाइयो ।

वर्षदिन निदाएर बस्ने अनि आर्थिक वर्षको अन्त्यमा बजेट सक्काउनकै लागि प्रतियोगिता गराउँदा त्यसको मारमा फेरि तीनै खेलाडी परिरहेका छन् । सहभागी खेलाडीहरु पनि खेल स्थलसम्म आउन ठाउँठाउँको पहिरो र अवरोध पार गर्दै निकै कष्टकर यात्रा गर्न बाध्य छन् ।

प्रदेश खेलकुद परिषद् गण्डकीले असार २३ र २४ गते पोखरामा प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्दैछ । तर परिषद्ले वर्षाले खेलाडीलाई पर्ने असुविधाको कुनै परवाहनै नगरी आफ्ना मातहतका कार्यालयहरुलाई खेल सम्पन्न गर्न निर्देशन दिएको छ ।

वर्षमा बल्लबल्ल एक पटक हुने प्रतियोगिता छोड्न खेलाडीहरुलाई मन हुँदैन । तर खेल्दा पनि मैदान र अन्य कारणले क्षमता अनुसारको प्रदर्शन गर्न सकिरहेका छैनन । यस्तो कर्मकाण्डी प्रतियोगिता निश्चित स्वार्थी समुहलाई त फाइदाजनक होला तर समग्र खेल क्षेत्रको विकासका लागि भने घातक हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्