प्रतियोगिताका लागि स्वीकृति नदिँदा बेलझुण्डी रंगशाला बेवारिसे अवस्थामा (भिडियो रिपोर्टसहित)

२० असार २०७९ दाङ । आठौं राष्ट्रिय खेलकुदका लागि दाङको तुलसीपुरमा ४ बर्ष अगाडिनै निर्माण थालिएको बेलझुण्डी रंगशाला २ वर्ष अगाडि सम्पन्न भयो ।
राष्ट्रिय खेलकुद परिषद् राखेपले राष्ट्रिय खेलकुदका एथ्लेटिक्स र फुटबलका खेलहरु यही रंगशालामा सञ्चालन गर्यो । त्यसयता यहाँ जिल्ला खेलकुद विकास समितिले अन्य प्रतियोगिताका लागि स्वीकृति नदिँदा अहिले यो रंगशाला बेवारिसे जस्तै बनेको छ ।
२४ करोड २४ लाख रुपैयाँमा दाङको बेलझुण्डी रंगशाला २ वर्ष अघिनै तयार भएको थियो । अखिल नेपाल फुटबल संघ एन्फाको समन्वयमा फिफाको मापदण्ड अनुसार रंगशालामा चेन्जिङ रुम, रेफ्रि रुम, मिडिया सेन्टर, प्याराफिटलगायतका संरचना निर्माण भए ।
बहुउद्देशीय रंगशालामा एथ्लेटिक्सका खेलहरु संचालनका लागि सिन्थेटिक ट्रयाकसहितका पूर्वाधार बनाउँदै आठौं राष्ट्रिय खेलकुदका खेलहरु पनि खेलाइयो । आफ्नै क्षेत्रमा सुविधा सम्पन्न रंगशाला बनेपछि जिल्लाको खेलकुद विकासमा नयाँ आयाम थपिने खेलकर्मीको अपेक्षा थियो । तर एक पटक राष्ट्रिय प्रतियोगिता गराइएको यो रंगशालामा स्थानीय प्रतियोगिता र खेलाडीहरुले अभ्यास समेत गर्न नपाउँदा उनीहरु निराश छन् ।
कुनै पनि खेलको विकासका लागि प्रशिक्षणसँगै त्यसको पूर्वाधार विकास हुनु आवश्यक छ । तर रंगशालामा स्थानीय खेलाडीलाई बन्देज लगाउँदा उनीहरु आक्रोशित छन् ।
एक त पर्याप्त प्रतियोगिता हुँदैन । भएका प्रतियोगिता पनि पुरुष लक्षित बन्दा महिला खेलाडीहरु थप पीडामा छन् ।
रंगशालामा प्रतियोगिता गर्न नपाउँदा स्थानीय आयोजकहरु नजिकैको मैदानमा खेल खेलाउन बाध्य छन् । तर यसमा सम्बन्धित निकायको धारणा भने बेग्लै छ ।
ठूलो लगानीमा राष्ट्रको गौरवका रुपमा बनेका रंगशाला प्रयोगिविहीन हुनु बिडम्बना हो । यसले खेलाडीको भावनामा ठेस त लागेको छ नै राज्यको करोडौं रकम समेत बालुवामा पानी जस्तै भएको छ ।
प्रतिक्रिया