राजनीति

निरंकुश र असहिष्णु ओली : विरोधी नेतामाथि कारबाहीको डण्डा बर्साउँदै (भिडियो रिपोर्टसहित)

२०७९ असार ३ गते २१:१२
निरंकुश र असहिष्णु ओली : विरोधी नेतामाथि कारबाहीको डण्डा बर्साउँदै (भिडियो रिपोर्टसहित)

३ असार २०७९ काठमाडौं । पार्टीभित्रकै नेतालाई बेवास्ता गरेर अघि बढ्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीकालमा आफ्नै कार्यशैलीलाई ओली प्रवृत्तिको संज्ञा दिलाउन सफल हुनुभएको थियो । त्यही प्रवृत्तिले ओलीको सत्ता मात्र गुमेन पार्टी नै विभाजन भयो । तर, ओलीलाई आफ्नो कारणले नै यो अवस्था आएको हो भन्ने लाग्दै लागेन, बरू पार्टीभित्रै निरंकुश शैलीको अभ्यास गर्दै हुनुहुन्छ ।

दुई तिहाई बहुमतको सरकार हाकिरहेका ओली आफ्नै अहंकार र घमण्डले गर्दा पार्टीभित्र एक्लिनु मात्रै भएन, पार्टी विभाजन नै भयो । संघीय सरकार मात्रै होइन सातमध्ये ६ प्रदेशमा बनेको एकल सरकार गर्ल्यामगुर्लुम्मै ढल्यो । आफूले दुईपटक विघटन गरेको प्रतिनिधिसभा अदालतले बदर गरिदियो ।

पाँच दलीय गठबन्धन बन्यो । अहिले ओली त्यसको सामना गरिरहनु भएको छ । परिणामस्वरुप स्थानीय तह निर्वाचनमा नराम्रोसँग पछारियो, यस्तो अवस्थामा पार्टीका नेताहरूलाई विश्वासमा लिएर अघि बढ्नुपर्नेमा अहिले आफ्नै पार्टीका नेताको अन्तर्घातका कारण पराजित हुनुपरेको भन्दै त्यसको हिसाबकिताब गर्ने चेतावनी दिनुभएको छ ।

अन्य दलका नेताहरुले मात्रै नभइ एमालेकै नेताहरूले समेत ओलीको कार्यशैली र अहंकारलाई निको मानेका छैनन् । अनुशासन आयोगको कारबाही सिफारिसमा परेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूले गालीगलौजको संस्कृति बसाउँदै गएको टिप्पणी गर्नुभएको छ ।

नेताहरूले एमालेको समस्याको मूल जड अध्यक्ष ओलीको व्यक्तिवाद, गुटवाद, मनपरीतन्त्र, अहंकार र निरंकुश प्रवृत्ति नै रहेको बताउने गरेका छन् । एमालेमा ओलीको निरंकुशता बढ्दै गएको छ भने पार्टीभित्र थप असहिष्णु बन्दै जानुभएको छ ।

लोकतान्त्रिक मान्यता बोकेको दाबी गर्ने एमालेका अध्यक्ष ओलीचाहिँ अलोकतान्त्रिक भन्न मिल्ने कि नमिल्ने ? माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो भाषण र सार्वजनिक सञ्चारमाध्यममा दोहोर्‍याइरहने शब्द हो, एमाले अध्यक्ष ओलीको दम्भ, अहंकार र तानशाही प्रवृत्ति ।

पछिल्लो समय एमालेलाई यही प्रवृत्तिले ठूलो असर परेको छ । तर, ओली आफ्नै बोली र व्यवहारले निकै आलोचित भइरहनु भएको छ । त्यसो त अध्यक्ष ओली एमालेभित्र फरक धारमा उभिएका र आफ्नो आलोचना गर्ने नेताहरूप्रति सधैँ आक्रामक हुनुहुन्छ । बोलीले मात्रै हैन व्यवहारले ठेगान लगाउने ओली रणनीति देखिन्छ । त्यसैको पटाक्षेप हो नेता घनश्याम भुसालमाथिको कारबाही सिफारिस ।

केही नेताहरूले त ओली तानाशाह र फासीवादी बन्दै गएको आरोप लगाउने गरेका छन् । एमालेमा पार्टीभित्रका फरक मतप्रति देखाएको असहिष्णुताले पार्टीलाई क्षति पुग्ने देखिन्छ । आफूलाई वामपन्थी र लोकतान्त्रिक दाबी गर्ने नेताहरू बौद्धिक आलोचनाबाट सधैं त्रस्त देखिनु सुखद् होइन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्