खेलकूद

सुधार देखिएन नेपाली क्रिकेट टिमको प्रदर्शन (भिडियो रिपोर्टसहित)

२०७९ जेठ २७ गते २१:२५
सुधार देखिएन नेपाली क्रिकेट टिमको प्रदर्शन (भिडियो रिपोर्टसहित)

२७ जेठ २०७९ काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग टु अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल पराजित भयो । बलिङमा ओमानलाई दबाबमा राखे पनि फेरि ब्याटिङमै समस्या देखिँदा नेपालले १३ रनको झिनो अन्तरले हार्न पुग्यो । सिरिजका लागि अमेरिका जानुअघि कप्तान सन्दीप लामिछानेले ब्याटिङबाटै खेल जित्ने बताए पनि स्कोर बोर्डमा सुधार देखिएन ।

अमेरिकामा जारी आईसीसी विश्व क्रिकेट लिग टु अन्तर्गत क्रिकोणात्मक एक दिवसीय सिरिजको पहिलो खेलमा ओमानसँग नेपाल १३ रनले पराजित भयो । टस गुमाएर पहिले बलिङ गरेको नेपालले खेलको सुरुवातमै ओमानलाई झट्का दियो ।

तीव्र गतिका बलर करण केसीले इनिङ्सको पहिलो बलमै कश्यप प्रजापतिलाई एलबिडब्लु आउट गर्दै नेपाललाई शान्दार सुरुवात दिलाए । तर कप्तान जिशान मकसुदले शतकीय पाली खेल्दा ओमानले ५० ओभरमा ८ विकेट गुमाएर २११ रन बनायो ।

मध्यम लक्ष्य पछ्याएको नेपाल इनिङ सकिन २ बल बाँकी रहँदा १९८ रनमै अलआउट भयो । मध्यक्रमका आरिफ शेखले ६६ रनको अर्धशतकीय पाली खेल्नुबाहेक अन्य ब्याटर खासै चल्न सकेनन् ।

बलरहरुले शानदार प्रदर्शन गरे पनि नेपालको ब्याटिङ फेरि कमजोर सावित भयो । अमेरिका जानु अघि कप्तान सन्दीप लामिछानेले सिरिजका खेलहरु ब्याटिङले नै जिताउने बताए पनि पहिलो खेलमा त्यसो हुन सकेन । खेलपछि कप्तान लामिछानेले ब्याटिङकै कारण खेल हारेको प्रतिक्रिया दिए ।

परम्परागत समस्याका रुपमा रहेको ब्याटिङ मोसा क्रिकेट स्टेडियममा चल्न नसक्दा नेपालले सहज लक्ष्य भेट्टाउन सकेन । एक दिवसियमा २ सय आसपासको लक्ष्य मध्यमनै हो । तर नेपाली ब्याटरहरु क्रिजमा जम्न नसक्दा नेपाल स्तब्ध बन्यो ।

नेपाली बलरको धारिलो बलिङ सामु ओमानी कप्तान जिशान मकसुदबाहेक कुनै ब्याटर टिक्न सकेनन् । करणले ३८ रन खर्चिएर ५ विकेट लिँदा सन्दीपले २ र सोमपाल कामीले १ विकेट लिए । सुरुवाती समय चुस्त फिल्डिङ गरेको नेपालले यसलाई निरन्तरता दिन सकेन् । ओमानले अन्तिम १० ओभरमा ३ विकेट गुमाउँदा ६९ रन बनाउँदै जितको आधार तय गर्यो । डेथ ओभरमा रन बचाउन नसक्दा नेपालले २ सय माथिको चुनौती सामना गर्नुपर्‍यो ।

तर ब्याटिङमा नेपालको प्रदर्शन झनै खराब देखियो । यो खेलमा ओपनरद्धय कुशल भुर्तेल र आसिफ शेखको अभाव खड्किएको देखिन्छ । चोटका कारण उनीहरुले पहिलो खेल गुमाउँदा टोलीमा बोलाईएका विकेटकिपर ब्याटर सुवाष खकुरेल ओपनिङमा आए पनि राम्रो सुरुवात दिलाउन सकेनन् ।

अमेरिकामा अभ्यास खेलमा विष्फोटक ब्याटिङ गरेका रोहित पौडेल र अर्का भरपर्दा ब्याटर दीपेन्द्र सिंह ऐरी पनि सस्तैमा आउट हुँदा नेपाल दबाबमा पर्‍यो । तल्लोक्रममा विनोद भण्डारीले कमजोर प्रदर्शन गर्दा खेल नेपालको हातबाट फुत्कियो ।

त्यस्तै उत्कृष्ट साझेदारीको अभाव र गैरजिम्मेवारपूर्ण ब्याटिङ पनि टोलीको समस्याका रुपमा देखियो । २ सय ९८ बल खेल्दा नेपालले १ सय ६२ बल डट खेल्यो । यो हार एक दिवसिय विश्वकप खेल्ने नेपालको यात्रामा तगारो बन्न सक्छ । त्यसैले नेपाललाई बाँकी खेल जित्नुको विकल्प छैन । सिरिजको दोस्रो खेल नेपालले शनिबार घरेलु टोली अमेरिकासँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्