राजनीति

सत्ता गठबन्धन : प्रधानमन्त्रीको फकाउने प्रयास(भिडियो रिपोर्टसहित)

२०७९ जेठ २४ गते २१:२१
सत्ता गठबन्धन : प्रधानमन्त्रीको फकाउने प्रयास(भिडियो रिपोर्टसहित)

२४ जेठ २०७९ काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को आन्तरिक विवादले सत्ता गठबन्धन र शेरबहादुर देउवा नेतृत्वको सरकारकै भविष्यमाथि विभिन्न अड्कलबाजी शुरु भएको छ ।

एकीकृत समाजवादीबाट सरकारमा सहभागी ४ जना मन्त्री परिवर्तनको प्रयासपछि प्रधानमन्त्री देउवाको लोकतान्त्रिक समाजवादी पार्टीसँगको बढ्दो सामिप्यताले पाँच दलीय गठबन्धनको भविष्यमा उत्पन्न अड्कलबाजीमा थप बल पुगेको छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागी चार मन्त्री फेर्ने प्रस्तावसहित नयाँ मन्त्रीहरुको नामावली लिएर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न आइतबार बालुवाटार पुग्नु भयो ।

बजेटमा मन्त्रालयगत छलफल बाँकी रहेको भन्दै प्रधानमन्त्री देउवाले अहिले नै मन्त्री फेरबदल नगरौं भन्ने सुझाव दिएपछि अध्यक्ष नेपाल रित्तो हात फर्किनुभयो । त्यतिन्जेलसम्म एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी हुने प्रस्तावित मन्त्रीहरुको सपथको तयारी भैसकेको खबर चारैतर्फ फैलिसकेको थियो । मन्त्री बन्ने हल्ला चलेका नेताहरुले बधाई थाप्न थालिसकेका थिए ।

एकीकृत समाजवादीको तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले आफूहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने पार्टीको निर्णयका विरुद्ध अनविज्ञता प्रकट गरिरहेका थिए । ६ महिनापछि फिर्ता बोलाउने पूर्वनिर्धारित विषय भएको भन्दै मौका नपाएका पार्टीका अरु नेताहरुलाई मन्त्री बनाउने पार्टीका शीर्ष नेताहरुले स्पष्टीकरण दिनु पर्‍यो । सरकारमा सहभागी मन्त्रीहरुको पद तत्कालका लागि जोगियो भने मन्त्री बन्न खुट्टा उचालेका र दौरा सुरुवाल सिलाई सकेका एकीकृत समाजवादीका नेताहरु भने जिल्ल परे ।

तत्कालका लागि मन्त्रीमण्डलमा सहभागी मन्त्रीहरु परिवर्तन गर्न नसक्ने देउवाको अडानले भने एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल रुष्ट बन्नु भएको छ । मन्त्री परिवर्तनको खेल तत्कालका लागि स्थगित भएपनि एकीकृत समाजवादीवादीको संकट भने गहिरिएको छ ।

विवाद गहिरिँदै गएपछि एकीकृत समाजवादी पार्टी विभाजनसम्मको अवस्थामा पुगेको बताइन्छ । एकीकृत समाजवादीमा मात्रै नभएर सरकारकै अर्को घटक जनता समाजवादी पार्टीमा पनि संकट गहिरिँदै गएकाले देउवा नेतृत्वको सरकारकै भविष्यमाथि अनेक अड्कलबाजी भैरहेका छन् ।

जनता समाजवादीमा पनि मन्त्री फेर्नुपर्ने दबाब बढेको छ । जसपा नेतृत्वलाई मन्त्री नफेरे पार्टी संकटमा पर्ने कतिपय नेताहरुले चेतावनी दिइरहेका छन् । एकीकृत समाजवादीमा जस्तै जनता समाजवादीमा पनि मन्त्री बन्न खुट्टा उचालिरहेका नेताहरु पार्टी अध्यक्ष उपेन्द्र यादवसंग रुष्ट रहेको बताइन्छ ।

तत्कालका लागि बजेट पास गर्ने समयसम्म देउवाले पर्खिन भनेकाले दुवै दलभित्रको संकट मत्थर भएपनि मन्त्रीमण्डल हेरफेर भए कुनैपनि समयमा बिस्फोट हुन सक्ने बिश्लेषण भैरहेको छ । दुवैदलमा पार्टी विभाजनसम्मको संकट आउँदा देउवा सरकार अल्पमतमा पर्नेसम्मका दाबीहरु भैरहेका छन् ।

गठबन्धनमा आवद्ध दलभित्रको संकटका कारण आफू अल्पमतमा पर्ने देखिएपछि प्रधानमन्त्री देउवाले लोकतान्त्रिक समाजवादी पार्टीसंग सरकारमा सहभागी हुनका लागि आग्रह गरेको बताइएको छ ।

लगातार दुईदिन सोमबार र मंगलबार लोसपाका अध्यक्ष महन्थ ठाकुरसंग प्रधानमन्त्री देउवाले भेट गरेको तथ्यले पनि आंशकालाई बल पुगेको छ । मंगलबार पनि ठाकुर नेतृत्वमा बालुवाटार पुगेको लोसपा नेतृत्वले पनि विभिन्न ११ बुँदे माग राख्दै प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएको थियो । कांग्रेस नेतृ पुष्पा भुसालले पनि लोसपासंगको छलफल सकारात्मक रुपमा अघि बढेकाले सरकारमा आउने सम्भावना बढेर गएको दाबी गर्नुभएको छ ।

तर, लोसपाका नेता केशव झाले भने सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्रीले कुनै प्रस्ताव नगरेको बताउनुभयो । लोसपाले सरकारमा सहभागी हुने विषयलाई सार्वजनिक गरेको छैन ।

स्थानीय निर्वाचनको नतिजापछि गठबन्धनमै आवद्ध दलहरुका कतिपय नेताहरुले नै गठबन्धनको औचित्य माथि प्रश्न उठाउन थालेका छन् भने एकले अर्कोलाई धोका दिएको आरोप पनि लगाउने गरेका छन् ।

यस्ले पनि गठबन्धनको भविष्य र सरकारको आयु माथि नै प्रश्न उठिरहेको हो । तर देउवा नेतृत्वको सरकारलाई भने कुनैपनि हालतमा आगामी प्रतिनिधिसभाको निर्वाचनसम्मै लैजाने चाहना भने गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरु सहमत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्