आर्थिक

यस्ता कारणले कर्णालीका नागरिक महंगोमा तरकारी खरिद गर्न बाध्य (भिडियो रिपोर्टसहित)

२०७९ जेठ २४ गते १८:२७
यस्ता कारणले कर्णालीका नागरिक महंगोमा तरकारी खरिद गर्न बाध्य (भिडियो रिपोर्टसहित)

२४ जेठ २०७९ सुर्खेत । आफ्नै प्रदेशमा उत्पादन कम भएका कारण कर्णालीका नागरिक महंगोमा तरकारी खरिद गर्न बाध्य छन् ।

कर्णालीमा उत्पादन बढाउने विषयमा पटकपटक छलफल तथा बहस भएका छन् । तर, कार्यान्वयन नहुँदा आयातमा निर्भर हुनुपर्ने अवस्था छ । यसको प्रत्यक्ष असर नागरिकको भान्सामा परेको छ ।

प्रदेशभर करिव दुई लाख ९९ हजार तीन सय ३९ हेक्टर खेतीयोग्य जमिनमा छ । जसमध्ये ७३ प्रतिशत जमिन मात्र खेतीका लागि प्रयोग भएको छ । खेतीका लागि प्रयोग भएकामध्ये पनि ३१ प्रतिशत जमिनमा मात्र पूर्ण सिँचाई सुविधा छ ।

भएको खेती पनि परम्परागत प्रणालीमै सीमित छ । यसले कृषिजन्य उत्पादन कम भइरहेको छ। जसका कारण तरकारीको मूल्य ह्वात्तै बढेको छ भने नागरिक महंगो मूल्यमा तरकारी तथा फलफूल किन्न बाध्य छन् ।

तथ्यांक हेर्दा कर्णाली प्रदेशमा आधाभन्दा धेरै खेतीयोग्य जमिन प्रयोगमा आउन सकेको छैन । कृषिका लागि धेरै जमिन नहुनु, भएका जमिनमा सिँचाईको सुविधा नहुनु, कृषिभन्दा पनि अन्य क्षेत्रमा आकर्षण बढ्नुजस्ता कारण उत्पादन बढ्न सकेको छैन ।

प्रदेशका लागि आवश्यक तरकारी, फलफूल र मसलाजन्य उपजको करिव एक तिहाई मात्र कर्णालीमा उत्पादन हुन्छ । जसका कारण धेरै कृषि उपज अन्यत्रबाट ल्याउनुपर्ने बाध्यता छ ।

विषय यत्ति मात्र हैन । वीउ तथा मल अभाव, बजार मागभन्दा कम उत्पादन, अन्यत्रबाट ल्याउँदा लाग्ने महंगो भाडालगायतका कारण पनि मूल्य बढेको सरोकारवाला बताउँछन् ।

कर्णालीमा मुख्यतः छिमेकी मुलुक भारत तथा बाँके, महेन्द्रनगर, चितवन र बर्दियालगायतका स्थानबाट कृषि उपज आयात भइरहेको छ । यसरी हुने आयात कम गर्न प्रदेश र स्थानीय सरकारले कृषि उत्पादन बढाउन गम्भीर भएर लाग्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *