खेलकूद

खेल क्षेत्रमा भविष्य अनिश्चित भएपछि पलायन हुन बाध्य खेलाडी (भिडियो रिपोर्टसहित)

२०७९ जेठ २३ गते १७:३२
खेल क्षेत्रमा भविष्य अनिश्चित भएपछि पलायन हुन बाध्य खेलाडी (भिडियो रिपोर्टसहित)

२३ जेठ २०७९ काठमाडौं । खेल क्षेत्रमा सँधै बहसको विषय बन्ने गरेको छ, खेल व्यवसायिक हुन सक्छ ? लगानी र पूर्वाधार अभावका बीच खेल क्षेत्रमा लागिरहेका अधिकांश खेलाडी र प्रशिक्षक ढुक्क भएर खेल्न पाइरहेका छैनन् ।

जीवनको ऊर्जाशील समय खेलकुदमा बिताएपछि अनिश्चित भविष्यका कारण थुप्रै खेलाडी विदेश पलायन भइरहँदासमेत त्यसतर्फ राज्यको ध्यान पुग्न सकेको छैन् ।

झापा दमकका भीष्मराज उप्रेतीले विभागीय टोली महेन्द्र पुलिस क्लबबाट लामो समय भलिबल खेले । ३ पटक साफ गेम्समा सहभागी हुँदै २०५३ सालमा नेपालकै उत्कृष्ट भलिबल खेलाडीको रुपमा पुरस्कृत पनि भए ।

तर भलिबलमा भविष्य नदेखेपछि वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएका उनी अहिले झापामा भोलेन्टियर प्रशिक्षकको रुपमा काम गरिरहेका छन् । अन्तर्राष्ट्रिय मैदानमा राष्ट्रको झण्डा फहराउने खेलाडीप्रति राज्यले पनि दायित्व बहन गर्नुपर्ने उनको धारणा छ ।

चर्चित पूर्व फुटबलर सुरेन्द्र तामाङको अवस्था पनि उप्रेतीको जस्तै छ । २०५७ सालमा थ्री स्टार क्लबसँग आबद्ध भएपछि शुरु भएको सुरेन्द्रको फुटबल यात्राले व्यवसायिकता समायो ।

सुरेन्द्रले १० वर्ष थ्री स्टारबाट खेल्दा क्लबलाई शहीद स्मारक ए डिभिजन लिग समेत जिताए । तर फुटबल खेल्ने सिक्किम जाने क्रममा दुर्घटनामा परी घाइते भएपछि उनको खेल जीवनमा पुर्णविराम लाग्यो । अहिले सुनसरीका फुटबल प्रशिक्षकका रुपमा रहेका उनी खेलाडीको भविश्य सुनिश्चित हुन नसकेकोमा चिन्ता व्यक्त गर्छन् ।

भीष्मराज र सुरेन्द्र जस्ता कयौं पूर्व खेलाडीहरु अहिले पनि आर्थिक संकटबाट गुज्रिरहेका छन् । जो खेल जीवनपछि अन्योलपूर्ण भविष्य र पारिवारिक जिम्मेवारी पुरा गर्न विदेशीन र खेलबाटै पलायन हुन बाध्य छन् । राज्यले खेलेर बाँच्न सक्ने वातावरण बनाउन नसके यो क्रम अझै बढ्नेछ ।

खेलाडीले निर्धक्क भएर खेल्न सक्ने वातावरण नबन्दासम्म पदक जित्नु त परको कुरा खेलकुदप्रति नै वितृष्णा जाग्ने निश्चित छ । यसतर्फ राष्ट्रिय खेलकुद परिषद् र खेल सम्बद्ध निकाय पनि जानकार छ ।

एकाध बाहेक अधिकांश खेलका खेलाडी अझै पनि खेल जीवन पछिको भविष्य अन्धकार देख्छन् । सँधै पदकको आशा गर्ने खेल पदाधिकारी खेल क्षेत्रको विकास र खेलकर्मीको सुनिश्चित भविष्यप्रति गम्भीर भएको देखिँदैन् । खेलाडीको जीतमा आफ्नो भुमिका खोज्ने राज्य र सरकार खेलाडीलाई यो क्षेत्रमै टिकाइ राख्न पनि गम्भिर बन्नै पर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्