खेलकूद
रियल मड्रिडलाई यूईएफए च्याम्पियन्स लीग फूटबलको उपाधि
२०७९ जेठ १५ गते ७:४९

१५ जेठ २०७९ पेरिस । स्पेनिस क्लब रियल मड्रिडले यूईएफए च्याम्पियन्स लीग फूटबलको उपाधि जितेको छ ।
गएराति फ्रान्सको पेरिसस्थित स्टेट डे फ्रान्स रंगशालामा भएको फाइनलमा इंग्लिस क्लब लिभरपुललाई १–० ले पराजित गर्दै रियल मड्रिड च्याम्पियन बनेको हो ।
रियललाई जित दिलाउन ५९ औं मिनेटमा भिनिसियस जुनियरले गरेको गोल नै निर्णायक बन्यो । योसँगै रियल मड्रिड कीर्तिमानी १४ औं पटक च्याम्पियन्स लीगको उपाधि जित्न सफल भएको छ ।
रियलले पछिल्लो पटक २०१८ मा च्याम्पियन्स लीग जितेको थियो । यस्तै रियलका प्रशिक्षक कार्लो एन्सेलोटी ४ पटक च्याम्पियन्स लीग जित्ने पहिलो प्रशिक्षक बनेका छन् ।
यसअघि उनले रियलका लागि एक र एसी मिलानका लागि दुईपल्ट च्याम्पियन्स लीग जितेका थिए । लिभरपुलको भने सातौं पटक उपाधि जित्ने लक्ष्य अपुरो रह्यो।
प्रतिक्रिया