खेलकूद

एन्फामा चुनावी रन्कोः दुई समूह चुनावी मैदानमा, २१ पदका लागि ५४ जनाको उम्मेदवारी (भिडियो रिपोर्टसहित)

२०७९ जेठ १३ गते २०:५६
एन्फामा चुनावी रन्कोः दुई समूह चुनावी मैदानमा, २१ पदका लागि ५४ जनाको उम्मेदवारी (भिडियो रिपोर्टसहित)

१३ जेठ २०७९ काठमाडौं । मैदानभित्र र बाहिर सँधै चर्चामा आइरहने खेल संघ हो, अखिल नेपाल फुटबल संघ (एन्फा) । कहिले खेलाडी र प्रशिक्षकको विवाद त कहिले कार्यसमिति पदाधिकारीबीचको द्वन्द्वले एन्फालाई विवादमा तान्ने गरेको छ । खेलाडीले बन्द प्रशिक्षण छोडेपछि बहसको केन्द्रमा रहेको एन्फालाई अहिले भने आसन्न कार्यसमिति निर्वाचनले तताएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाको असार ६ गते हुने कार्य समिति निर्वाचनले यतिबेला नेपाली फुटबल तरंगित छ । नेतृत्वका आकांक्षीहरु मनोनयन दर्ता गरी मतदाताहरुलाई आफ्नो पक्षमा पार्न हरसम्भव प्रयास गरिरहेका छन् । यस पटकको निर्वाचनमा वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ अध्यक्षका प्रत्यासी हुन् ।

फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष राजिव पौडेलले पनि एन्फा नेतृत्वका लागि उम्मेदवारी दिइसकेका छन् । तर शेर्पा र नेम्वाङ नै बलियो दाबेदारका रुपमा देखिएका छन् । आआफ्नो उम्मेदवारी घोषणा कार्यक्रममा दुवैले अधिकांश मतदाता भेला पारेर शक्ति प्रदर्शन गरे । मतदाताको समर्थनबाट हौसिएका दुवै उम्मेदवार आगामी निर्वाचनमा विजयी हुनेमा विश्वस्त छन् ।

वरिष्ठ उपाध्यक्ष नेम्वाङले उम्मेदवारी घोषणा कार्यक्रमको अधिकांश समय शेर्पाको आलोचनामै बिताए । शेर्पा प्यानलको कार्यक्रम केहि हदसम्म चुनाव लक्षित देखिए पनि विपक्षीको आरोपको खण्डन गर्न भने छोडेनन। लामो विरासत बोकेका गणेश थापालाई पन्छाउन एक समय एउटै प्यानलबाट विद्रोह गरेका शेर्पा र नेम्वाङबीचको सम्बन्ध केही वर्षयता पानी बाराबारको अवस्थामा छ ।

चेन्ज एन्फा नारा दिएर अघिल्लो चुनावमा प्यानल सहित कार्य समितिमा आएका शेर्पा र नेम्वाङ त्यसको केहि महिनादेखी नै एक अर्काविरुद्ध आरोप प्रत्यारोपमा लागे । त्यसैले यस पटकको चुनाव फुटबल विकास भन्दा पनि दुवै पक्ष अस्तित्व रक्षामै केन्द्रित देखिन्छन । नेम्वाङ प्यानलबाट वीरबहादुर खड्का वरिष्ठ उपाध्यक्ष र ४ उपाध्यक्षका लागि विराटजंग शाही, दावा लामा, सुन्दरनरसिंह जोशी र दीपक खतिवडाले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै मनाङ मर्स्याङ्दी क्लबका अध्यक्ष विजय घले र पूर्व अध्यक्ष नरेन्द्र श्रेष्ठ पनि नेम्वाङको समुहमा छन् । नेम्वाङले असन्तुष्ट पदाधिकारीको साथ लिएर बेग्लै प्यानल बनाएका छन् । अध्यक्ष शेर्पासँग असन्तुष्ट वर्तमान कार्यसमितिका पदाधिकारीहरु नेम्वाङसँग छन् । अघिल्लो चुनावमा शेर्पाविरुद्ध लडेका जिल्ला तथा क्लबलाई नेम्वाङ पक्षले समेटेको छ ।

यता एन्फा नेतृत्व दोहोर्याउने लक्ष्यमा रहेका शेर्पाले पनि प्यानलसहित चुनावी तयारी गरिरहेका छन् । मानार्थ उपाध्यक्ष शिक्षित पराजुलीले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिँदा उपाध्यक्ष पदका लागि उपेन्द्रमान सिंह, रत्नकुमार श्रेष्ठ र दीर्घबहादुर केसी र विज्ञानराज शर्माले उम्मेदवारी दर्ता गराए । मुख्य गरि प्रदेश एक र बागमती प्रदेशमा नेम्वाङ बलियो अवस्थामा छन् भने गण्डकी र लुम्बिनी प्रदेशमा शेर्पा पक्ष बलियो देखिएको छ । तटस्थ देखिएको मधेश प्रदेशलाई आफ्नो पक्षमा पार्न यतिबेला दुवै पक्ष जोडबलले लागिरहेका छन् । क्लब र संघमा आफु बलियो रहेको दुवै पक्षको दाबी छ ।

एन्फाको २१ सदस्यीय कार्यसमितिका लागि ५४ जनाको उम्मेदवारी परेको छ । एन्फा निर्वाचनबाट १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष र २ महिलासहित १५ सदस्य निर्वाचित गर्नेछ । कुल ८७ मतदाता रहेकोमा सिन्धुली र भक्तपुर जिल्ला निर्वाचनमा सहभागी नहुने भएपछि ८५ मतदाता हुनेछ । जसअनुसार जिल्लाबाट ४३, ए डिभिजनका १४ क्लब , बी डिभिजनका ११ र सी डिभिजनका ९ क्लब तथा राष्ट्रिय लिगमा छनोट भएका ४ मोफसलका क्लब तथा ४ वटा संघ मतदानमा सहभागी हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्